वीरगञ्ज : खानेपानी मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुरदेखि पटेलनगरसम्मको बाटोमा नाला तथा सडक ढलान निर्माण कार्यको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रममा मन्त्री यादवले यो कार्य स्थानीय जनताको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउँदै नागरिकको सुविधा र सहजताका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको जानकारी दिए। उनले भने, “उक्त नाला तथा ढलान निर्माण कार्य सम्पन्न भएपश्चात यहाँका नागरिकलाई निकै सहज हुने अपेक्षा लिएको छु।”
मन्त्री यादवले शुद्ध खानेपानी वितरण, नाला सुधार तथा सडक ढलानजस्ता जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको बताए।
शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियार, स्थानीय अगुवा नेता, कार्यकर्ता तथा वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्त्री यादवले कार्यक्रममा सहभागी सम्पूर्ण जनप्रतिनिधि, स्थानीय अगुवाहरू र वडावासीप्रति आभार प्रकट गर्दै भने, “जनताको सेवा गर्नु नै मेरो प्रमुख कर्तव्य, जिम्मेवारी र सन्तोषको कारण हो।”
यस परियोजनाबाट परवानीपुर क्षेत्रका बासिन्दाले वर्षौँदेखि भोग्दै आएको नाली निकास र सडक सुधारको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ।