काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदैछ । सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ ।
महानगरपालिकाको दुई हजार ८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको जनाएको छ । ३० दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिम राखिएको छ ।
महानगरले सीप मेलाका लागि यो वर्ष ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको हो । यसअघि आईसीटी क्षेत्रमा छानिएका ५ वटा पेशा थप गरेर १२ वटा बनाइएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइनमा रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
महानगरले सरकारी निकाय, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।
दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । तालिम आईसीटी क्षेत्र, इलेक्ट्रिक्स, गार्मेन्ट्स, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एण्ड स्कप्चर, कृषिलगायतका क्षेत्रमा सञ्चालन हुनेछ ।त्यस्तै सौन्दर्य क्षेत्र र स्टक मार्केटसम्बन्धी पनि तालिम हुनेछ । आज बेलुका ४ बजे अभिमुखीकरण कार्यक्रम गर्ने महानगरको तयारी छ ।