काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।
७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए । उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।
संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भिर अर्थ भेटिन्छन् ।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।
रसिकले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे ।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक ९२०३८–२०४००, सांस्कृतिक संस्थानको महाप्रबन्धक ९२०४०–२०४६०, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक ९२०५२–२०५५०, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव ९२०७२–२०७५० जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।
नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।