काठमाडौं । अबदेखि घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुबै पक्षले अनिवार्य रूपमा बैंक स्टेटमेन्ट र केवाइसी फारम (पहिचान विवरण) बुझाएपछि मात्र लिखत पास हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को व्यवस्था अनुसार यो नयाँ निर्देशिका लागू गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आताङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्वन्धमा जारी गरिएको निर्देशन, २०८२’ ले यस्तो व्यवस्था गरेको हो । देशभरका मालपोत कार्यालयलाई पत्राचार गर्दै तुरुन्तै कार्यान्वयनमा ल्याउन मन्त्रालयले निर्देशन दिएको छ ।
निर्देशिकाअनुसार अबदेखि १० लाख रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा रकम अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीबाट कारोबार गर्नुपर्ने भएको हो । कारोबारमा मालपोत दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर बिक्रीकर्ताको खाताबाट सरोकारवाला निकायको राजस्व खातामा जम्मा हुनुपर्नेछ ।
यस्तै, ५० लाख रुपैयाँभन्दा माथिको कारोबार ‘गुड फर पेमेन्ट चेक’ वा विद्युतीय माध्यमबाट मात्र गर्न पाइनेछ । घरजग्गा खरिदकर्ताले आफ्नो बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम पठाएको प्रमाणस्वरूप बैंक स्टेटमेन्ट पेश गर्नुपर्नेछ ।
यस्तै, १० लाखभन्दा बढीको एक व्यक्तिले एक दिनमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ । केवाइसी फारम अनिवार्यरूपमा दुवैले बुझाउनुपर्नेछ ।
व्यवस्थाले सम्पत्ति शुद्धीकरण निरुत्साहित गर्नेछ, कारोबार पारदर्शी बनाउने र राजस्व चुहावट रोक्ने मन्त्रालयले जनाएको छ । यस्तै, मालपोत क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुयाउने मन्त्रालयले जनाएको छ ।