काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दा नेपालका लागि एमजी मोरिस ग्यारेज (एमजी) ब्रान्डको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सको व्यापारमा उछाल आएको छ । कम्पनीले एकै वर्ष ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब १८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँ, सन् २०२१ मा ७१ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१६ मा स्थापना भएको कम्पनीले नेपाली बजारमा एमजस् ब्रान्डको सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।
त्यसैगरी, कम्पनीले सन् २०२० मा जापानमा बन्ने मज्दा मोटर कर्पोरेशन, सन् २०२१ मा चीनमा बन्ने म्याक्सस सवारी साधन र सन् २०२४ मा चीनमा नै बन्ने विद्युतीय सवारी साधन उत्पादन कम्पनी वालिङ कम्पनीसँग नेपालका लागि आधिकारिक विक्रेताको रुपमा सम्झौता गरेको छ । सम्झौता गरेसँगै कम्पनीले सो कम्पनीमा निर्माण भएको सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीअनुसार सन् २०२४ मा एमजी ब्रान्डको विद्युतीय सवारी साधनबाट मात्रै ८० देखि ८५ प्रतिशत आम्दानी भएको छ । जसमा कम्पनीले व्यापाक रुपमा एमजी जेटएस इभी मोडलको गाडी बिक्री गरेको पाइएको छ ।
नेपाली बजारमा विद्युतीय सवारी साधनको व्यापारमा उच्च प्रतिस्पर्धा छ । जसले गर्दा कम्पनीको व्यापारमा प्रभाव पर्ने कम्पनीको भनाइ छ । विशाल ग्रुप र संघाई ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले म्याक्सस, मज्दा र वुलिङ ब्रान्डको गाडी बिक्री वितरण गर्दै आएको छ ।
थापाथलीमा कार्यालय रहेको कम्पनीमा शिरिसकुमार मुरारकाको ४० प्रतिशत, विशाल अग्रवालको १५ प्रतिशत, कविता संघाईको १५ प्रतिशत, मन्जु अग्रवालको १५ प्रतिशत र मधु अग्रवालको १५ प्रतिशत स्वामित्व छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।