काठमाडौं । अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो । राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् । यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर–आप्रवासन (नन–इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।
ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए । अमेरिकी विदेश मन्त्रालयअनुसार, पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन् ।
आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । ट्रम्पले जुन ४ मा विदेशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधानी अपनाउन भनेका थिए । ट्रम्पले आतंकवाद रोक्नका लागि यी प्रतिबन्धहरू आवश्यक रहेको बताउँदै आएका छन् ।