काठमाडौँ । काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।
कारोबारीको आक्रमणमा परेर लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी हवलदार नवराज घिसिङ र प्रहरी सहायक हवलदार रवीन्द्र केसी घाइते भएका छन् । घिसिङको बायाँ घुँडामा र केसीको दायाँ पाखुरामा चोट लागेको ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी गोली चलाएका हौँ ।’
४ राउन्ड हवाई फायर र त्यसपछि ३ राउन्ड गोली चलाउनुपरेको एसएसपी कोइरालाले बताए । प्रहरीको गोली लागेर भारतको वेस्ट बङ्गाल घर भएका ४० वर्षीय सशिक आलम र बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम घाइते भएका छन् ।
उनीहरू दुवैजनाको बायाँ खुट्टामा चोट लागेको छ । आलमद्वयको ट्रमा सेन्टरमा उपचार हुँदै छ । उनीहरूले प्रहरीलाई रड प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । स्पिकर भित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले बताए ।
मंगलबार दिउँसो २ बजेतिर सुनधाराबाट भारतको पठाना घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाल पक्राउ परेका थिए । उनीहरूको बयानको आधारमा ब्युरोको टोली ग्राण्डी पुगेको थियो । दुईजना गोली लागेकाहरू सहित ४ जनालाई नियन्त्रणमा लिइएको एसएसपी कोइरालाले बताए ।
गोली लागेर घाइते भएका साशिक आलम यसअघि पनि लागुऔषधको मुद्दा खेपेका व्यक्ति हुन् । उनी ६ महिना पहिले मात्र धरौटीमा छुटेर फेरी लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भारतीयहरू नेपाल आउजाउ गरिरहन्थे । उनीहरू लामो समयदेखि खैरो हेरोइन कारोबारमा संलग्न रहेको सूचनाको आधारमा ब्युरोको टोलीले पछ्याइरहेको एसएसपी कोइरालाले जानकारी दिए । उनले भने, ‘यो समूहबारे हामीले केही समय यता निगरानी गरिरहेका थियौँ ।’