वीरगञ्ज, पर्सा – वीरगञ्ज महानगरपालिका–४, पर्सास्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसमा मन्त्री प्रदीप यादवको निरीक्षण भ्रमण सम्पन्न भएको छ। यस क्रममा क्याम्पसमा विद्यमान खानेपानी र सरसफाइका समस्याबारे गम्भीर छलफल गरिएको छ।
हाल सञ्चालनमा रहेको पानीको ट्याङ्की जीर्ण अवस्थामा रहेको र पानी चुहिने समस्या देखिएकोले मन्त्री यादवले यथाशिघ्र ट्याङ्कीको मर्मत तथा आवश्यक परेमा नयाँ ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, क्याम्पस परिसरभित्रका खुला नाला र विर्ता बस्तीको फोहोर पानी सोही नालामा जम्मा हुने समस्याले क्याम्पसको वातावरण प्रदूषित बनाएको गुनासो प्राप्त भएको छ। यसलाई मध्यनजर गर्दै मन्त्री यादवले नालाको सरसफाइ, व्यवस्थित ढल निकास र दिर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
प्रदीप यादवका अनुसार, क्याम्पसमा अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण अझ स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने साझा लक्ष्य रहेको छ। यसका लागि सबैको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको उनले बताए।
वीरगञ्ज नर्सिङ क्याम्पस, त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको एक प्रमुख क्याम्पस हो, जसले स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। 
क्याम्पसको भौतिक पूर्वाधारमा सुधार र विकासका लागि विभिन्न योजनाहरू अघि बढाइरहेको छ।