नुवाकोट : कृषिमा उत्पादन बढोत्तरी गर्ने उद्देश्यले नुवाकोटका किसानलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ। धान, तरकारी, आलु खेती गरिरहेका किसानलाई कृषि उपकरणहरू प्रदान गरिएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले कृषि समूह, कृषि फर्म तथा किसानहरूलाई विभिन्न १९ प्रकारका आधुनिक यन्त्र उपकरणहरू प्रदान गरेको छ। कार्यालयले धान, आलु र तरकारी जोन (क्षेत्र)_ वर्गीकरण गरी सो क्षेत्रभित्रका किसानहरूलाई उपकरणहरु प्रदान गरेको हो।
यसबाट किसानहरू उत्पादन बढोत्तरीतर्फ केन्द्रित भएको कार्यालय प्रमुख रवीन्द्र पौडेलको भनाइ छ। उनका अनुसार किसानको फर्ममा स्थलगत अनुगमन गरेर उपकरण दिने र अनुगमन कार्यलाई निरन्तरता दिने कार्यसमेत भइरहेको छ।
बेलकोटगढी नगरपालिका–१३ मदानपुरमा किसानहरूलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको छ। कृषि प्राविधिसहितको टोलीले गाउँमै पुगेर किसान तथा कृषि समूहहरूलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरेको कृषि प्राविधिक भुवन तिम्सिनाको भनाइ छ।
धान जोन अन्तर्गत रहेका किसान तथा कृषि समूहलाई यस वर्ष पेट्रोल मिनिट्रिलर एक सय ९५ थान, डिजेल मिनिट्रिलर पाँच थान, पावर ट्रिलर १२ थान, स्प्रेयर दुई सय ५७ थान, पेडल थ्रेसर २० थान र कम्माइन मिल २२ थान हस्तान्तरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार धान जोनमा एक सय ६५ वटा कृषि फर्म तथा समूहमा एक हजार तीन सय ४४ जना सदस्य आबद्ध रहेका छन्।
आलु जोनतर्फ एक सय ४६ थान मिनिट्रिलर र ८७ थान स्प्रेयर वितरण गरिएको कृषि प्राविधिक राजन डंगोलले जानकारी दिए। उनका अनुसार आलु जोनमा एक सय १८ वटा कृषि फर्म तथा समूहमा तीन हजार जना सदस्य आबद्ध रहेका छन्।
नयाँ तरकारी जोनतर्फ ७० थान पेट्रोल मिनिट्रिलर, ६१ थान डिजेल मिनिट्रिलर, एक सय ४४ थान स्प्रेयर, चार थान पावर स्प्रेयर र २५ थान व्रस कटर प्रदान गरिएको छ । सो जोनमा एक सय ६ वटा कृषि फर्म तथा समूहमा तीन हजार नौसय १० जना सदस्य आबद्ध रहेका छन्।
यस्तै बाख्रा जोनतर्फ १७ थान घाँस मिलाउने मेशिन, चार थान दाना बनाउने मेशिन, ३३ थान मकै छोडाउने मेशिन, चार थान विक्स मिल घट्ट र आठ थान तराजु हस्तान्तर गरिएको छ। सो जोनमा एक सय ५७ वटा कृषि फर्म तथा समूहमा तीन हजार सदस्य आबद्ध रहेका छन् ।