रौतहट : रौतहटको गरुडा नगरपालिकाले आईतवार एक भव्य समारोहबीच आफ्नो १३औं नगरसभा तथा नवौं बजेट अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। नगरप्रमुख कन्थमणी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ता प्रमुख अतिथि रहनुभएको थियो।
अधिवेशनको मुख्य आकर्षणका रूपमा नगर उपप्रमुख पुनम चौधरीले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्ताव सभामा प्रस्तुत गर्नुभयो। प्रस्तावलाई नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा बजेट दस्तावेजमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, लघु उद्यम प्रवर्द्धन, महिला सशक्तिकरण, बालबालिका संरक्षण, दलित तथा अपाङ्गता भएका व्यक्तिको हक–अधिकार प्रत्याभूति, पछाडि पारिएका वर्गहरूको समावेशी विकासलगायतका विषयलाई विशेष प्राथमिकता दिइएको छ।
अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले पारदर्शी, समावेशी र जनउत्तरदायी स्थानीय शासनमार्फत गरुडा नगरलाई समृद्ध र स्वावलम्बी बनाउने लक्ष्यमा आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सहभागितामूलक विकास, सामाजिक न्याय र दिगो योजनामार्फत गरुडा नगरको मुहार फेर्न हामी क्रियाशील रहनेछौं।”
नगरसभामा क्षेत्रीय सांसदहरू, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधिहरू, नगरपालिकाका कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा सहभागी वक्ताहरूले नगरपालिकाको बजेट र नीति कार्यक्रमलाई सकारात्मक रूपमा लिएर कार्यान्वयनमा इमानदार प्रयास गर्न सुझाव दिएका थिए।
अन्त्यमा नगरपालिकाको तर्फबाट सभामा सहभागी सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै कार्यक्रमको सफल आयोजनामा योगदान पुर्याउने सबै पक्षप्रति कृतज्ञता प्रकट गरिएको छ।
यसपटकको नगरसभा तथा बजेट अधिवेशनले गरुडा नगरको भावी विकासको दिशामा स्पष्ट मार्गरेखा तय गरेको जनाइएको छ। नीति तथा बजेट कार्यान्वयनमा नागरिकको निगरानी र सहकार्य आवश्यक रहेको सुझावसमेत सभामा उठाइएको थियो।