महिला उद्यमशीलता प्रवर्द्धन र नयाँ व्यापारिक सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले Women's Creation द्वारा आयोजित २१औं समर एक्जिबिशन वीरगंजको होटल दियालोमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा Women’s Creation की अध्यक्ष अन्जु रूंगटाले विभिन्न विधा, क्षेत्र र व्यवसायिक दृष्टिकोणलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। उनले यो प्रदर्शनी कृष्ण जन्माष्टमी, रक्षाबन्धन र मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गरी गरिएको उल्लेख गरिन्।
एक्जिबिशनमा ५० भन्दा बढी स्टलहरू राखिएको थियो, जसमा महिला श्रृंगार, पूजा सामग्री, पहिरन, सजावट, परिकार, कस्मेटिक्स र आभूषणहरू जस्ता सामग्री प्रदर्शनमा राखिएका थिए। १००० भन्दा बढी दर्शकको उपस्थिति रहेको यो प्रदर्शनीमा नेपालका विभिन्न सहरहरू — काठमाडौँ, नारायणगढ, सिराहा लगायत वीरगंजका स्थानीय उद्यमीहरूको सहभागिता थियो भने भारतका मुझफ्फरपुर, वेतिया, कोलकाता लगायत सीमावर्ती क्षेत्रबाट समेत सहभागिता देखिएको थियो।
कार्यक्रमको प्रायोजक Royal Enfield रहेको थियो भने Co-sponsors मा Bigmaster, Quest Pharmia, Galaxy र Premia रहेका थिए।
Women's Creation की स्थायी सदस्य अपर्णा पटवारीका अनुसार, यस कार्यक्रमको उद्देश्य केवल व्यापार प्रवर्द्धन मात्र नभएर उचित प्लेटफर्म नपाएका महिला उद्यमीहरूलाई नि:शुल्क स्टल उपलब्ध गराई अवसर प्रदान गर्नु पनि हो।
समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, APF का S.P. रधिश्याम समाल, र जिल्ला प्रहरी कार्यालयका उपरीक्षक गौतम मिश्रको पनि उपस्थिति रहेको Women’s Creation की सदस्य नुतन सरावगीले जानकारी दिइन्।
उद्यमशील महिलाहरूको सामूहिक प्रयासद्वारा आयोजना गरिएको यस कार्यक्रमले स्थानीय व्यापारमा सकारात्मक सन्देश र सशक्त महिला सहभागिता देखाएको सहभागीहरूको भनाइ थियो।