लामो खडेरीले जर्जर बनेको तराई/मधेसमा वर्षा होस् भन्ने कामनासहित वीरगञ्जस्थित गहवा माई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ सम्पन्न गरिएको छ। माईस्थान सञ्चालक समितिको आयोजनामा बुधवार सम्पन्न उक्त धार्मिक अनुष्ठानमा समुदायको उल्लेखनीय सहभागिता रहेको छ। यज्ञमा समितिका अध्यक्ष नरेन्द्र शाह, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, स्थानीय अगुवा, धार्मिक व्यक्तित्वहरू र सयौं श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस यज्ञको उद्देश्य इन्द्रदेवको कृपाबाट पानीको संकट हटाउनु र स्थानीय जनजीवनलाई सहज बनाउनु रहेको आयोजकहरूले बताएका छन्। बिहान ८ बजेबाट सुरू भएको यज्ञमा स्थानीय पण्डितहरूले वैदिक मन्त्रहरू उच्चारण गर्दै विधिपूर्वक हवन गरेका थिए।
पानीको चरम अभाव, धार्मिक उपायमा स्थानिय
पछिल्लो केही महिनायता वीरगञ्ज, पर्सा, बारा, रौतहटलगायतका जिल्लामा पर्याप्त वर्षा नहुँदा पानीको मुहान सुक्दै गएका छन्। घरायसी प्रयोगदेखि कृषि र पशुपालनसम्म सबै क्षेत्रमा पानीको गम्भीर अभाव देखिएको छ। यस्तो संकटको बीचमा समुदायले धर्मलाई आधार बनाएर समाधान खोजेको छ।
पानीको चरम अभावले जनजीवन संकटमा
पछिल्लो केही महिनायता वर्षा नहुँदा पर्सा, बारा, रौतहटलगायत तराईका जिल्लाहरूमा चापाकलदेखि भूमिगत जलस्रोतसम्म सुकेका छन्। खानेपानीको अभावले दैनिक जीवन कष्टकर बनेको छ भने खेती, पशुपालन र घरेलु काममा समेत ठूलो असर परेको छ।समितिका अध्यक्ष शाहले यज्ञमार्फत समुदायको साझा चासोलाई धार्मिक स्वरूपमा प्रस्तुत गरिएको जनाउँदै भने, “पानीको संकट हामी सबैको हो। यज्ञ हाम्रो आस्थाको अभिव्यक्ति हो, जसले वातावरणमा सकारात्मक ऊर्जा ल्याउने आशा गरिएको छ।”
धार्मिक विश्वास
हिन्दू परम्पराअनुसार, इन्द्रदेव वर्षाका देवता हुन्। पर्जन्य यज्ञ जस्ता धार्मिक अनुष्ठानहरूले उनको कृपा प्राप्त हुने जनविश्वास रहिआएको छ। यज्ञस्थलमा हवन कुण्ड, दाउरा, घ्यू, जडीबुटीलगायत सामग्रीको व्यवस्था समितिले गरेको थियो। स्थानलाई सफा र आकर्षक बनाउन विशेष ध्यान दिइएको थियो।