वीरगंजमा रगत अभावका कारण स्वास्थ्य उपचारमा भइरहेको चुनौतीलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वय र गौतम स्कुलको आयोजनामा ‘एक घर, एक रक्तदाता’ अभियानसहित विशेष रक्तदान कार्यक्रम यही शनिबार सञ्चालन हुने भएको छ।
अभियानको मूल उद्देश्य समाजमा नियमित रक्तदानको संस्कार विकास गर्नु र बिरामीहरूको जीवनरक्षाका लागि स्थायी समाधानतर्फ अग्रसर हुनु रहेको आयोजक विद्यालयले जनाएको छ। अभियान अन्तर्गत सबै वर्ग र समुदायमा रक्तदानप्रतिको चेतना फैलाउन कार्यरत नेपाल रेडक्रसका स्वयंसेवकहरूले पर्चा–पम्पलेट वितरण तथा जनचेतनामूलक संवादका माध्यमबाट अभिभावकहरूमा सन्देश पुर्याइरहेका छन्।
गौतम स्कुलले हालसम्म विद्यालयका २,१०० भन्दा बढी विद्यार्थीलाई रक्तदानको आवश्यकता, फाइदा तथा आपत्कालीन अवस्थामा यसको प्रभावका बारेमा कक्षा प्रशिक्षणमार्फत जानकारी गराइसकेको छ। “रक्तको अभावका कारण धेरै बिरामीहरू जीवनरक्षाको मौकाबाट वञ्चित हुनुपरेको यथार्थ हामीले बुझ्नुपर्छ,” आयोजक पक्षले भनेका छन्, “यदि हरेक घरबाट कम्तीमा एक जना रक्तदाता तयार गरियो भने, यो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ।”
कार्यक्रम शनिबार गौतम स्कूलको जुनियर विंगमा आयोजना हुनेछ। आयोजकले स्थानीय नागरिक, अभिभावक, शिक्षक, युवा तथा समुदायका सदस्यहरूलाई सहभागी भई रक्तदानमा सघाउन आह्वान गरेका छन्।
गौतम स्कुलका अनुसार, “संकटको घडीमा दिइएको एक थोपा रगत कसैको जीवनको सञ्जीवनी बन्न सक्छ। रक्तदान कथा होइन, वास्तविक नायक बन्ने बाटो हो।” आयोजकको भनाइमा, यो अभियान केवल जीवन बचाउने कार्य मात्र नभई, नयाँ पुस्तालाई सेवा, करुणा र मानवीयताको शिक्षा दिने अवसरसमेत हो।
‘एक घर, एक रक्तदाता’ अभियानले वीरगंजमा दीर्घकालीन सामाजिक परिवर्तनको आधार निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।