वीरगञ्ज, ३ साउन
कुम्हालटोल टोल सुधार समाज वीरगञ्ज–७ द्वारा आयोजित १२औं मासिक निःशुल्क भोजन शिविर सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता प्रकाश उपाध्यायले दिनदुःखी र असहायको सेवा नै मानवताको मूल आधार भएको बताउँदै सबैलाई सामाजिक सेवा र सहयोगका लागि हातेमालो गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “कुम्हालटोल समाजले एक वर्षदेखि जुन समर्पण र निष्ठाका साथ गरिब, असहाय र बटुवाहरुलाई घरजस्तै सफा, स्वच्छ र पोषिलो भोजन खुवाउँदै आएको छ, त्यो अत्यन्तै प्रशंसनीय छ। यस्तो सेवा कार्यमा म पनि प्रत्यक्ष सहभागी हुन पाउँदा हर्षित छु।”
शिविरमा सडकमा हिँड्ने बटुवादेखि रिक्सा, ठेला, इ–रिक्सा चालक तथा गरिब वर्गका नागरिकहरूलाई दाल–भात, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार सहितको भोजन वितरण गरिएको थियो।
समाजका अध्यक्ष नन्दलाल राउत अहिरले गामी दिनमा प्रत्येक १५ दिनमा एकपटक, र त्यसपछि हरेक शनिबार निःशुल्क भोजन शिविर आयोजना गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले यस्तो सेवा सञ्चालनका लागि सबै सहयोगी मनहरूलाई साथ दिन आग्रह गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कंचनजंघा स्कुलका निर्देशक समाजसेवी मार्टिन मोक्तान, अमरटोल टोल सुधार समितिका सचिव युवा समाजसेवी नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष वैधनाथ साह, सल्लाहकार श्रवणबहादुर रायमाझी, समाजसेवी गोबिन्द ताम्राकारलगायत स्थानिय अग्रज, युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
समाजसेवी भट्टराईले यस्तो अभियानले जीवन कठिनाइमा रहेका मानिसहरूलाई राहत दिने र मानवता अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै सबैलाई सहभागी हुन आह्वान गर्नुभयो।