पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ सिद्धपुरमा रहेको राष्ट्रिय वनको जग्गामा वन कार्यालयले नापजोख गरी शनिबार गाडेको किलाखुटा स्थानीय जनप्रतिनिधिहरूले आइतबार उखलेर फालिदिएका छन्।
सिद्धपुरका भूमिहीन दलित समुदायले दश वर्षदेखि करिब पाँच विघा जग्गामा खेतीपाती गर्दै आए पनि, वन कार्यालयले किलाखुटा गाडेर उक्त जग्गा अतिक्रमणमुक्त गर्ने प्रयास गरेको थियो। स्थानीय दलितहरूले यस विषयमा गाउँपालिका अध्यक्ष यशवन्त यादवलाई जानकारी गराएपछि अध्यक्ष यादव, वडा अध्यक्ष वासुदेव महत्तो थारु र अन्य जनप्रतिनिधिहरू घटनास्थल पुगेर किलाखुटा उखलेर फालिदिएका हुन्।
गाउँपालिका अध्यक्ष यादवले भने, “सिद्धपुरमा करिब दुई सय पचास उराँव जातिका घरधुरी छन्, जसको आफ्नै जग्गा छैन। उनीहरू सुकुम्बासी भएर दशकोंदेखि गाउँ नजिकैको जग्गामा खेतीपाती गर्दै आएका छन्। वन कार्यालयले बिना समन्वय किलाखुटा गाड्नु अस्वीकार्य छ, त्यसैले हामीले उखलेर फाल्यौं।”
उनले वन कार्यालयलाई चेतावनी दिँदै भने, “भूमिहीन दलितहरूको लागि वैकल्पिक व्यवस्था नभएसम्म उक्त जग्गामा कुनै छेडछाड नगरियोस्।”
अध्यक्ष यादवका अनुसार, दुई हप्ता अघि वन कार्यालयसँग भएको छलफलमा भूमिहीन दलितहरूको अवस्था बुझाएर किलाखुटा गाड्न नदिन अनुरोध गरिएको थियो, तर कर्मचारीहरूले बिना सूचना किलाखुटा गाडेर उक्त क्षेत्रमै समस्या सिर्जना गरेका थिए।
सिद्धपुरकी दलित महिला सहंशा उरावले आफ्नो पुस्तौंदेखि खेती गर्दै आएको जग्गामा वनले किलाखुटा गाडेर उठिबास लगाउने प्रयास गरेको गुनासो गरेकी छिन् भने पूर्व गाउँ विकास समिति अध्यक्ष लालदेव उरावले वन कार्यालयको यो कदम जनविरोधी भएको बताए।
आइतबार भएको किलाखुटा उखाल्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव, वडा अध्यक्ष महत्तो थारु, पूर्व गाउँ विकास समिति अध्यक्ष लालदेव उराव र अन्य स्थानीय प्रतिनिधिहरू सहभागी थिए।
