गैरआवासीय नेपाली संघ (एनआरएनए) फिलिपिन्सको साधारणसभा तथा नयाँ कार्यसमितिको पदबहाली कार्यक्रम मनीलास्थित पर्ल होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत डा. जोसे पाउलो ई. क्याम्पोसले नेपाली समुदायको सहकार्य र समर्पणको खुलेर प्रशंसा गरे।
“नेपाली समुदायको एकता साँच्चै अनुकरणीय छ। यस्ता कार्यक्रमले आपसी सम्बन्ध थप प्रगाढ बनाउँछ,” महावाणिज्यदूत क्याम्पोसले उद्घाटन मन्तव्यमा भने।
कार्यक्रमको सुरुवात नेपाली तथा फिलिपिनी राष्ट्रिय गान र पानसमा दीप प्रज्वलनसहित गरिएको थियो। समारोहले सांस्कृतिक र औपचारिक पक्षलाई सँगै जोड्दै नेतृत्व हस्तान्तरणलाई उत्सवको रूपमा मनायो।
नयाँ नेतृत्व र नयाँ दिशा
संघको उपाध्यक्ष डा. संगीत काशाजुले स्वागत मन्तव्य दिँदै एनआरएनएको विगतका योगदान र आपतकालीन अवस्थामा देखाएको सक्रियतालाई स्मरण गरे। सन् २०१५ को भूकम्पपछिको चिकित्सकीय सहयोगलाई उनले उदाहरणस्वरूप प्रस्तुत गरे।
नवनिर्वाचित अध्यक्ष प्रकाश श्रेष्ठले संगठनको भावी योजनाहरू प्रस्तुत गर्दै एकता, सहयोग र सहभागीता मूलमन्त्र हुने बताएका छन्। उनले प्रवासी नेपालीहरूको सशक्तिकरणलाई प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाए।संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार सुदर्शनकुमार खड्काले नयाँ टोलीलाई शपथ गराउँदै पारदर्शिता र निष्ठाको आग्रह गरे। नयाँ नेतृत्वले पनि प्रतिबद्धताका साथ कार्यभार सम्हाल्ने घोषणा गर्यो।कार्यक्रममा ओपन फोरम र आत्म-परिचय सत्रको व्यवस्था गरिएको थियो, जसले सहभागितालाई अझ समावेशी र अर्थपूर्ण बनायो।सांस्कृतिक सत्रमा ‘काठमाडौँ ठकाली किचेन, मनीला’ द्वारा नेपाली भोजन प्रस्तुत गरिएको थियो। इमिलियो अगुइनाल्दो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले गीत, संगीत र नृत्यमार्फत नेपाली कला र विविधताको जीवन्त झल्को दिएका थिए।
सुदृढ मञ्चको अनुभूति
समापन मन्तव्यमा सुदर्शन खड्काले प्रवासी नेपालीहरूलाई साझा हितमा संगठित भई अघि बढ्न आह्वान गरे। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, व्यापार र सामाजिक क्षेत्रमा सक्रिय नेपालीहरूको प्रतिनिधित्व गर्दै एनआरएनए फिलिपिन्सले एक सुदृढ मञ्चको भूमिका खेलेको उल्लेख गरियो।उक्त कार्यक्रममा केवल नेतृत्व हस्तान्तरण नभई, नेपाली समुदायको ऐक्यबद्धता र पहिचानप्रतिको प्रतिबद्धता झन बलियो बनाएको सहभागीहरूको भनाइ थियो।