भाद्र कृष्ण प्रतिपदाको अवसरमा नेवार समुदायले आज देशभर गाईजात्रा पर्व उल्लासमय वातावरणमा मनाएका छन्। वीरगञ्जको माईस्थान क्षेत्र आज परम्परागत वेशभूषा, नाचगान, व्यङ्ग्यात्मक झाँकी र रंगीचंगी सजावटसहितको नगर परिक्रमा भएर जीवन्त बनेको छ।
ऐतिहासिक किंवदन्तीअनुसार, राजा प्रताप मल्लले पुत्रवियोगमा डुबेकै रानीलाई सान्त्वना दिन मृतक परिवारलाई गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि सुरु भएको यो परम्पराले समयसँगै सामाजिक व्यङ्ग्य र जनचेतनाको स्वरूप पनि पाएको छ।
आजको दिनमा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा सहभागीहरूले गाई वा गाईको स्वरूपमा सजिएर नगर परिक्रमा गर्छन्। यस क्रममा दही, चिउरा, रोटी, फलफूल र पैसा दान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार, यसरी गाईको प्रतिकमार्फत नगर परिक्रमा गर्दा मृतक आत्मालाई वैतरणी नदी पार गर्न सहज हुन्छ।
भक्तपुरमा परालको गाई ९रथ० नगर परिक्रमा गराई सोही दिन विसर्जन गर्ने परम्परा अद्यापि कायम छ। पाटनमा देखाइने सत्य युगको धान–चामलको नमूना र काठमाडौंको ठमेलमा प्रदर्शित स्वर्ण–रजताक्षर अंकित पुस्तकहरू विशेष आकर्षण मानिन्छन्।
नेपाल सरकारले यस अवसरमा काठमाडौं उपत्यका र बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। पछिल्ला वर्षमा गाईजात्रा सामाजिक व्यङ्ग्य, मनोरञ्जन र विकृति–विसङ्गति उजागर गर्ने खुला मञ्चको रूपमा पनि स्थापित भएको छ।
काठमाडौं उपत्यका मात्र नभई बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतका सहरहरूमा पनि आज गाईजात्रा पर्व मनाइयो।