भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बिश्व हिन्दु परिषद नेपालले वीरगन्जमा भव्य शोभायात्राको आयोजना गरेको छ। धार्मिक उत्साह र श्रद्धासहित सम्पन्न सो शोभायात्रामा हजारौं भक्तजनको सहभागिता रहेको थियो।
शोभायात्रामा परम्परागत बाजागाजा, भजन–कीर्तन, झाँकी प्रदर्शन तथा वैदिक मन्त्रोच्चारणसहितको सांस्कृतिक प्रस्तुति देखाइएको थियो। विभिन्न सामाजिक, धार्मिक तथा युवा समूहहरूले हातमा धार्मिक ध्वजा, श्रीकृष्णको चित्रसहितको ब्यानर लिएर सहभागिता जनाएका थिए।
यस अवसरमा वीरगन्जका पूर्व नगरप्रमुख आदरणीय विजय कुमार सरावगी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। सरावगीले शोभायात्रामा उपस्थित भक्तजनलाई सम्बोधन गर्दै श्रीकृष्ण जन्माष्टमीलाई धर्म, सत्य, न्याय र मानवताको प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताए। उनले धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा पैदा गर्ने र एकता तथा सद्भाव बढाउने बताए।
शोभायात्रामा सहभागी भक्तजनहरूले “जय श्रीकृष्ण” भन्दै शहर परिक्रमा गरेका थिए। रंगीन झाँकीहरूमा बालकृष्णको जीवनका विभिन्न प्रसंगहरू प्रदर्शित गरिएका थिए जसले उपस्थित श्रद्धालुहरूलाई आकर्षित गर्यो।
बिश्व हिन्दु परिषद नेपालका पदाधिकारीहरूले यो शोभायात्रा मार्फत धार्मिक परम्पराको संरक्षण र भावी पुस्तामा सनातन मूल्य–मान्यताको प्रवर्द्धन गर्ने उद्देश्य रहेको जानकारी दिए।
कार्यक्रममा वीरगन्जका विभिन्न क्षेत्रका सरोकारवालाहरू, सामाजिक अगुवाहरू, महिला–पुरुष तथा बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।