पर्सा :पर्सा जिल्लामा झाडा–पखाला तथा हैजा (कोलेरा) संक्रमणको जोखिम बढेपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले तत्काल नियन्त्रण र रोकथामका लागि जनचेतनामूलक घरदैलो अभियान सुरु गर्ने निर्णय गरेको छ।
शनिबार जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले पर्सास्थित सबै अस्पतालहरुलाई बिरामीको उपचारलाई पहिलो प्राथमिकतामा राखी समयमै प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, आवश्यक परेमा थप जनशक्ति परिचालन गरी तयारी अवस्थामा रहन समेत भनिएको छ।
बैठकले स्वास्थ्य कार्यालय पर्सालाई पर्याप्त औषधि तथा परीक्षण किटको व्यवस्था मिलाउन जिम्मेवारी दिएको छ। सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवालाको टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा दातृ निकायहरुसँग सहकार्य गरी आवश्यक सामग्री व्यवस्थापन र सचेतना अभिवृद्धि अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यता समितिको अर्को बैठक भोलि भदौ ८ गते दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने भएको छ।