हिन्दू महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा को-अपरेटिभ म्यानेजर्स क्लब पर्साले एक भव्य सांस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम शनिबार पर्सा जिल्लास्थित स्थानीय होटल भिसुवामा उत्साहपूर्वक सम्पन्न भएको हो।
को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष रवि भूषण श्रीवास्तवको अध्यक्षता तथा सिएमसि क्लबका संस्थापक अध्यक्ष जिष्णु बरालको प्रमुख आतिथ्यमा सो हरितालिका तिज दर खाने कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बरालले तिज पर्व महिलाको आत्मबल, भक्ति र संस्कृतिप्रतिको श्रद्धा झल्काउने पर्व भएको भन्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र एकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी महिला सदस्यहरूले परम्परागत पहिरनमा सजिएर तिजका भजन, नृत्य र गीत–सङ्गीत प्रस्तुत गर्दै रमाइलो वातावरण सिर्जना गरेका थिए। कार्यक्रमका क्रममा महिलाहरूले विविध प्रकारका परिकारहरूको दर सेवन गरी तिजको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका थिए।
क्लबका अध्यक्ष रवि भूषण श्रीवास्तवले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भन्नुभयो, हाम्रो उद्देश्य सांस्कृतिक पर्वहरूको संरक्षण गर्नुका साथै महिला सशक्तिकरणमा टेवा पुर्याउनु हो। यस कार्यक्रममार्फत हामीले सामाजिक एकता र सौहार्द बढाउने प्रयास गरेका छौं।
सो अवसरमा क्लबका अन्य पदाधिकारी, सदस्यहरू, विभिन्न सहकारी संस्था प्रतिनिधिहरू तथा स्थानीय महिला अगुवा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम मनोरञ्जनात्मक मात्र नभई सामाजिक रुपमा पनि सशक्त सन्देश दिने खालको भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
को(अपरेटिभ म्यानेजर्स क्लब पर्साले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रममा सिएमसि क्लबका निवतामा अध्यक्ष चन्देश्वर चौरसिया,राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतो,सिएमसि क्लबका उपाध्यक्ष रामबाबु चौधरी ,सिएमसि क्लबका सचिव प्रदिप कुमार लोहार,जिल्ला बचत संघका कोषाध्यक्षमा अरुण कुमार साह,संचालक समितिका सदस्य उमेश साह ,संचालक समिति सदस्य किरण ठाकुर ,दिलासा रन्जितकार,गुनगुन शर्मा ,सुजित जैसवाल ,रचना श्रेष्ठ ,पुजा घिमिरे ,सोनम श्रेष्ठ ,पुनिता चौरसिया,सन्ता श्रेष्ठ ,ममता भुलन,शुशमा श्रेष्ठ ,शारदा मानन्धर ,मेनुका साह,तेतरी देवी लगायतले शुभकामना दिनुभएको थियो ।कार्यक्रमको सहजिकरण सिएमसि क्लबका इन्दुरन्जितकारले गरेकी थिइन् ।