अफगानिस्तानको पूर्वी प्रान्तमा आएको भूकम्पमा हालसम्म ६२२ जनाको मृत्यु भएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्।
६ म्याग्निच्युडको भूकम्पले कुनार र नाग्गाहार प्रान्तका गाउँहरूमा व्यापक क्षति पुर्याएको छ। कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको छ। खोजी र उद्धार कार्य जारी भएकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका छ।
भूकम्पको केन्द्र जलालावाद शहरदेखि २७ किलोमिटर टाढा, १० किलोमिटर गहिराईमा रहेको थियो। यसको झटका करिब ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो।
माटो र ढुंगाले बनेका घरहरू ध्वस्त भएका कारण उद्धारकर्मीहरूले हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गर्दै आएका छन्। अधिकारीहरूका अनुसार भग्नावशेषमा खोजी र राहत कार्य तीव्र रूपमा जारी छ।
तालिबान सरकारका प्रवक्ता अब्दुल मतेन क्वानीले भने,
“पूर्ण सहायताका लागि उद्धार र राहत टोली परिचालित छन्। सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणमा प्रयास जारी छ।”
भूकम्प र बाढीले प्रभावित हुने ग्रामिण क्षेत्रमा उद्धारकर्मी परिचालित छन्। अफगानिस्तानले हालै मानवीय संकटको सामना गरिरहेको छ, बाह्य सहायता कटौती भइरहेको अवस्थामा यस भूकम्पले देशलाई थप संकटमा पारेको छ।
पछिल्लो ठूलो भूकम्प सन् २०२२ मा आएको थियो, त्यतिबेला करिब एक हजार जनाको मृत्यु भएको थियो। गएराति आएको भूकम्प त्यसको तुलनामा ठूलो क्षति पुर्याउने खालको रहेको अधिकारीहरूले जनाएका छन्।