काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले हरायो ।
हङकङ भने यो हारसँगै जितविहिन बनेको छ । समूह ए मा तीनवटै खेलमा पराजित भएको हङकङ बाहिरिएको छ । हङकङले दिएको १५० रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर पथुम निसान्काले सर्वाधिक ६८ रन बनाए ।
वानिन्दु हसरंगा २० रनमा अविजित रहे । कुशल परेराले पनि २० रन बनाए । हङकङले कसिलो बलिङ गर्दै श्रीलंकालाई अन्त्यसम्मै दबाबमा राखेपनि १८औं ओभरमा नो बल र छक्का बेहोरेपछि हङकङले खेल गुमायो ।
हङकङका कप्तान यासिम मुर्तजाले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए । आयुष शुक्ला, एहसान खान र एइजाज खानले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । निजाकात खानले सर्वाधिक अविजित ५२ रन बनाए ।
अन्शुमन राथले ४८ रन बनाए । जीशान अलीले २३ रन बनाए । श्रीलंकाका दुश्मान्था चमीराले २ विकेट लिँदा वानिन्दु हसरंगा र दशुन शनकाले १–१ विकेट लिए ।
जितसँगै २ खेलमा ४ अंक जोडेको श्रीलंका समूह ए मा शीर्षस्थानमा छ । अफगानिस्तान र बंगलादेश २–२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
आज बेलुका बंगलादेश र अफगानिस्तानबीचको खेलपछि यस समूहबाट सुपर फोरमा पुग्ने टोलीको टुंगो लाग्न सक्छ । अफगानिस्तान विजयी सुपर फोरमा प्रवेश गर्नेछ भने बंगलादेश विजयी भएमा श्रीलंका र अफगानिस्तानबीचको खेल पर्खनु पर्नेछ ।