वीरगञ्ज– नेवा पुच (नेवार समाज) पर्साको आयोजनामा शनिबार एक भव्य कार्यक्रम बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बडादशैँ, तिहार, नेपाल सम्बत ११४६, दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विविध समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको थियो।
कार्यक्रम नेवा पुच (नेवार समाज) पर्साका अध्यक्ष हरिबहादुर बैधको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सो शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। नगर प्रमुख सिंहले शुभकामना मन्तव्य राख्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरे। उनले भने, “दुर्गा माताले सबै नेपालीको कल्याण गरुन्। धार्मिक र सांस्कृतिक चाडपर्वले हामीलाई एकताको सूत्रमा बाँध्छ।” साथै उनले हाल बीरगंज महानगरपालिका अन्तर्गतका धेरै संरचना नष्ट भइसकेको हुँदा महानगरबाट प्रदान गरिनुपर्ने सेवा तथा सुविधाहरूलाई पुनः व्यवस्थित गर्न र चाँडै शुचारु रूपमा सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको जानकारी पनि दिए।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, विभिन्न जातीय र सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, युवाहरू र महिलाहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले पर्वहरूको महत्व, सांस्कृतिक संरक्षण तथा सामाजिक सहिष्णुता सम्बन्धी विचार ब्यक्त गदै ढिलो भए पनि शुआरभ भएकोमा यसलाई नेवार समुदायले चासोका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेवा पुच पर्साले यस्तो कार्यक्रमले समाजमा आपसी सद्भाव र भाइचारा बढाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्दै लैजाने अध्यक्ष बैधले प्रतिवद्धता जनाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेवा पुच देवु सचिव दिपेन्द्र श्रेष्ठ ,कोषाध्यक्ष सुन्दर श्रेष्ठ ,जग्गा दाता सुदेश लाखे,सहकोषअध्यक्ष अमृता जोशी ,प्राध्यापक महेन्द्र गुप्ता ,डाक्टर मनोज उपाध्याय,सरस्वती प्रधान नेवा पुच महानगर सचिव सवना श्रेष्ठ ,डाक्टर दिपक शाक्य लगायत नेवार समुदायका उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको सहजिकरण महासचिव बलराम श्रेष्ठले गर्नुभएको थियो ।