सिरहाको कल्याणपुर नगरपालिका–८, अरङस्थित दलित बस्तीमा घर भत्काउने र लुटपाट गर्ने घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत शुक्रबार साँझ करिब ५ बजेतिर ठूलो पोखरीको उत्तरपट्टी रहेको दलित बस्तीमा तोडफोड र लुटपाट भएको थियो। शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा स्थानीय युवाहरूको समूहले हमला गरेको पीडितको आरोप छ।
घटनापछि पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गराएका थिए। सोही जाहेरीका आधारमा प्रहरीको टोलीले वडाध्यक्ष यादवसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
उनका अनुसार, “घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। अनुसन्धानका क्रममा थप संलग्नता देखिए कानूनी कारबाही बढाइनेछ।”उजुरीमा नाम निकालिएका अन्य व्यक्ति — राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती र मुस्तफा राइन लगायत हुन्।
स्थानीयवासीका अनुसार, असोज १ गतेको विश्वकर्मा पूजाको अवसरमा अरङ बजारमा आयोजना गरिएको आर्केस्ट्रा कार्यक्रममा दलित समुदायसँग भएको विवादपछि प्रतिशोधस्वरूप शुक्रबारको घटना भएको हो।
घटनाका बेला प्रहरी टोली उपस्थित रहे पनि तोडफोड रोक्न नसकेको आरोप लगाइएको छ। स्थिति तनावपूर्ण भएपछि मिर्चैया र सशस्त्र प्रहरीले थप बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएको थियो।