मधेस प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। नेकपा एमालेले बुधबार मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेको छ। यससँगै प्रदेशमा नयाँ सत्ता गठबन्धन बन्ने सम्भावना प्रष्ट भएको छ।
एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। उनले आजै अपरान्ह ४ बजे प्रदेश प्रमुखलाई औपचारिक रूपमा समर्थन फिर्ता पत्र बुझाइने जानकारी दिएका छन्।
मण्डलले अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी समेत गरे। “कांग्रेससँग एमालेबीच सहमति भइसकेको छ, अब कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्नेछ,” उनले भने।
यसअघि नै नेपाली कांग्रेसले पनि सरकारबाट समर्थन फिर्ता लिइसकेको छ। त्यस्तै, मुख्यमन्त्री रहेका जनमत पार्टीका सतिशकुमार सिंहलाई राजीनामा दिन पार्टीले निर्देशन दिए पनि उनले नटेरेपछि जनमतले भदौ ३१ गते प्रदेश प्रमुख र सभामुखलाई पत्र बुझाउँदै सरकारबाट बाहिरिएको थियो।
सतिशकुमार सिंह २०८१ जेठ २५ गते नेकपा एमाले, कांग्रेस र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो गठबन्धन कमजोर हुँदै गएको स्पष्ट भएको छ।
अब कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने सहमति एमाले, कांग्रेस र जनमतबीच भइसकेको छ। तर लोसपाले भने अझै औपचारिक सहमति जनाइसकेको छैन।
मधेस प्रदेश सभामा हाल १०७ सदस्य छन्। जसमा नेकपा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ जना सांसद छन्। यस्तोमा नयाँ सत्ता समीकरणले प्रदेश सरकार फेरिने निश्चितजस्तै देखिएको छ।