धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा ५० लाख रुपैयाँ बराबरको औषधि हराएपछि पाँच सदस्यीय विशेष छानबिन समिति गठन गरिएको छ।
अस्पतालको प्रारम्भिक अनुसन्धानअनुसार करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका छन्।
घटनापछि प्रतिष्ठानले हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा। विष्णु पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो। प्रवक्ता डा। अञ्जु प्रधानका अनुसार समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।
डा। प्रधानले भनिन्, ‘यो घटना अहिलेको अवस्थामै घोटाला भनेर निष्कर्ष निकाल्ने स्थिति छैन, प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको हो, समितिको अन्तिम प्रतिवेदनपछि मात्र दोषी निर्धारण र कारबाही हुनेछ।’
प्रतिष्ठानले घटनाबारे विज्ञप्ति जारी गर्दै फार्मेसी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिलाई ठेक्कामा दिइएको र सो कम्पनीले भौतिक परीक्षणमा अटेरी गरेकाले समस्या झन् गम्भीर भएको जनाएको छ।
मासिक तलब नपाएको भन्दै केटीएम सेक्युरिटीका कर्मचारीहरूले साउन १८ गतेदेखि आन्दोलन गरेका थिए, जसका कारण औषधि बिक्री वितरण ठप्प भएको थियो। साउन २० गते गरिएको भौतिक परीक्षणमा अनियमितता देखिएपछि प्रतिष्ठानले निष्पक्ष छानबिनका लागि स्वतन्त्र समिति गठन गरेको हो।
घोटालाको तथ्य बाहिरिएसँगै फार्मेसी अस्थायी रूपमा बन्द गरिएको छ। यस कारण बिरामीहरू बाहिरी मेडिकलबाट महँगो दरमा औषधि किन्न बाध्य भएका छन् भने स्वास्थ्य बीमाअन्तर्गत निःशुल्क औषधि सेवा समेत रोकिएको छ। प्रतिष्ठानले वैकल्पिक औषधि आपूर्तिको व्यवस्था मिलाउँदै बिरामी सेवामा पर्ने असर न्यून पार्ने तयारी गरेको छ।