हिन्दी सिनेमाका दिग्गज हास्य अभिनेता ८८गोवर्धन असरानी ९असरानी०८८को ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। पछिल्ला केही दिनदेखि बिरामी रहेका उनले मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचारका क्रममा दिउँसो करिब ३ देखि ३स्३० बजेको बीचमा अन्तिम सास लिएका हुन्।
उनका निजी सचिव बाबुभाइका अनुसार असरानीको स्वास्थ्य अवस्था चार दिनयता गम्भीर बनेको थियो। उनको अन्त्येष्टि मुम्बईको सान्ताक्रुजस्थित शास्त्री नगर श्मशान घाटमा गोप्य रूपमा सम्पन्न गरिएको हो। अन्तिम संस्कारमा उनकी पत्नी मञ्जु असरानी, बहिनी, भतिजाहरू र नजिकका केही मात्र व्यक्तिहरू उपस्थित थिए।
सचिवका अनुसार, असरानीले जीवनकालमै पत्नीलाई ‘मृत्युबारे धेरै प्रचार–प्रसार नगर्न’ अनुरोध गरेका थिए। त्यसैले उनको निधनको खबर पनि अन्त्येष्टि सम्पन्न भएपछि मात्रै सार्वजनिक गरिएको हो।
सन् १९४१ मा जयपुरमा जन्मिएका असरानीले पुणे फिल्म इन्स्टिच्युटमा अभिनय अध्ययन गरेका थिए। त्यहीँ उनले प्रसिद्ध अभिनय प्रशिक्षक रोशन तनेजाबाट प्रशिक्षण लिएका थिए। उनले आकाशवाणी जयपुरमा पनि केही समय काम गरेका थिए।
असरानीले पहिलोपटक ऋषिकेश मुखर्जीको फिल्म ‘गुड्डी’ १९७१ बाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले ‘मनोज कुमार’, ‘गुलजार’ र अन्य नामी निर्देशकहरूसँग काम गर्दै आफ्नो करियरलाई उच्च शिखरमा पुर्याए।
‘शोले’ को जेलर — अमर पात्र
सन् १९७५ को सुपरहिट फिल्म ८८‘शोले’८८मा उनले निभाएको ‘अंग्रेजों के ज़माने का जेलर’ पात्रले उनलाई अमर बनायो। हिटलरको हावभाव र भाषणशैलीबाट प्रेरित त्यो भूमिका हिन्दी सिनेमाको इतिहासकै सबैभन्दा चर्चित हास्य अभिनयमध्ये एक मानिन्छ।
असरानीले करिब ३५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका छन्। ‘गोलमाल’, ‘चुपके चुपके’, ‘कोशिश’, ‘बावर्ची’, ‘छुपा रुस्तम’, ‘आ अब लौट चलें’ लगायतका फिल्ममा उनको अभिनय दर्शकको मनमा गहिरो छाप छोड्ने खालको रह्यो।
हिन्दी हास्य सिनेमाको स्वर्णयुगका प्रतीक मानिने असरानीको निधनसँगै भारतीय फिल्म जगतले एक असल कलाकार मात्र होइन, अभिनयको विद्यालय गुमाएको अनुभूति गरेको छ।