यमपञ्चकको मुख्य दिन अर्थात् तिहारको छैटौँ दिन आज देशभर भाईटीका उत्साहपूर्वक मनाइएको छ। दिदी–बहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरेका छन ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको छैटौँ दिन यस वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विशेष तिथि वृद्धि भएर परेको हो। यस दिनलाई यमद्वितीया पनि भनिन्छ।
टीका लगाउने क्रममा दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाउने परम्परा रहेको छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार, “दिदीबहिनीले पूजा गरी टीका लगाउँदा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।”
आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तलाई सर्वोत्तम मानिएको छ। समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार, यस वर्ष दिदी–बहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिम फर्केर टीका लगाउँदा तुला राशिमा रहेका पश्चिमतर्फको चन्द्रमासँग शुभ संयोग प्राप्त हुन्छ।
टीका लगाउने क्रममा लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजासहित मूल थालीमा अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम तथा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपति आदिका पूजाआराधना गरिन्छ। दिदी–बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी फूलको माला लगाइदिन्छन्।
धर्मशास्त्रविद् भट्टराईका अनुसार, तिहारमा टीकामा प्रयोग हुने पाँच रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो हुनु शास्त्रीय रूपमा उचित मानिन्छ।
टीका लगाइसकेपछि दिदी–बहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी जस्ता परिकारहरू खुवाउँछन्। दाजुभाइहरूले पनि दिदी–बहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा प्रदान गरी सम्मान प्रकट गर्ने परम्परा छ। यसरी भाईटीका केवल धार्मिक अनुष्ठान नभई पारिवारिक प्रेम र सामाजिक सम्बन्ध सुदृढ बनाउने माध्यमका रूपमा मनाइन्छ