वीरगन्ज महानगरपालिकाले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा बीउ वितरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विकास प्रवर्द्धन शाखामार्फत सञ्चालन हुने यो कार्यक्रमले महानगरपालिकाभित्रका १ देखि ३२ नं। वडाका किसानलाई बीउ तथा कृषिजन्य सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
कृषि उत्पादन बढाउने, आय–आर्जन सुधार गर्ने र किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित निर्माण गरिएको कार्यक्रम आर्थिक वर्ष २०८२र८३ को स्वीकृत योजना अनुसार अघि बढाइएको महानगरले स्पष्ट पारेको छ। महानगरले गत वर्षका अनुभव र किसानसँग भएका छलफलका आधारमा यस वर्षको बीउ वितरण प्रक्रिया अझ व्यवस्थित, पारदर्शी र छरितो बनाइएको बताएको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार, किसानहरूले आफ्ना आवश्यकीय कागजात—लालपुर्जाको प्रतिलिपि,नागरिकताको फोटोसहित प्रतिलिपि, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखामा समन्वय गरेसँगै ५० प्रतिशत अनुदानमा बीउ प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।बीउ वितरणका क्रममा किसानले आफ्नो खेतीयोग्य क्षेत्रफल, आवश्यकताको आधार र प्राविधिक सिफारिसहरू प्रस्तुत गर्नुपर्नेछ। शाखाले कागजात प्रमाणीकरण गरेपछि वितरण प्रक्रिया सहज र छिटो रूपमा हुने महानगरले जनाएको छ।
वीरगन्ज महानगर कृषि उत्पादनमा गत वर्षभन्दा अझ ठूलो फड्को मार्ने लक्ष्यमा रहेको छ। आर्थिक वर्ष २०८२र८३ मा बेमौसमी तरकारी, धान, गहुँ, तोरी, मकै तथा अन्य मौसमी बालीका लागि गुणस्तरीय बीउ वितरण गरिँदैछ। कृषि शाखाका अनुसार, अनुदानमा यसरी उपलब्ध गराइने बीउले—किसानको उत्पादकता वृद्धि, बीउको पहुँच सुगम, आय–आर्जनमा सुधार र स्थानीय बजारमा ताजा कृषि उपभोग्य वस्तुको उपलब्धता वृद्धि हुने अपेक्षा गरिएको छ।साथै महानगरले बीउ वितरणसँगै कृषि प्राविधिकहरूलाई पनि सक्रिय बनाउँदै, किसानका खेतमै पुगेर परामर्श, रोग–कीरा नियन्त्रण, मल व्यवस्थापन र आधुनिक खेती प्रविधि सम्बन्धी मार्गदर्शन दिने तयारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “तोकिएको समयभित्र आवश्यक कागजातसहित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखामा सम्पर्क गरी अनुदानमा उपलब्ध गराइने बीउ वितरण सेवा सहज रूपमा लिन किसान साथीहरूलाई आग्रह गर्दछौँ।”महानगरका अनुसार, बीउ वितरण कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन हुनेछ र माग तथा उपलब्धताको आधारमा अन्य सामग्रीहरू पनि पछि थप गर्न सकिनेछ।बीउ वितरण सुरु भएको खबरले स्थानीय किसानमा उत्साह छाएको छ। धेरै किसानले अनुदानमा गुणस्तरीय बीउ पाउँदा खेतीको खर्च घट्ने र उत्पादन बढ्ने अपेक्षा व्यक्त गरेका छन्।