पर्सा र बारामा फैलिएको हैजाको जोखिमलाई न्यून गराउँदै स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको हैजाविरुद्धको खोप अभियान अत्यन्त सफल भएको छ। दुवै जिल्लाका करिब ९० प्रतिशत जनसंख्या खोपको पहुँचमा आएपछि स्वास्थ्यकर्मीले यसलाई हालसम्मकै “सबैभन्दा प्रभावकारी खोप अभियान” भन्दै प्रशंसा गरेका छन्।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा। अभियान गौतमका अनुसार बारा जिल्लामा ८८।२५ प्रतिशत र पर्सामा ९० प्रतिशत जनताले खोप लगाएका छन्। संख्या अनुसार, बाराका ३ लाख २२ हजार ९२६ र पर्साका ५ लाख ८९ हजार ३५४ जनाले खोप पाए।
डा. गौतमका अनुसार खोप अभियान बारा–पर्सामा भदौ महिनामा देखिएको हैजाको महामारीलाई नियन्त्रणमा ल्याउने उद्देश्यमै सञ्चालन गरिएको थियो। अभियान दुई चरणमा सम्पन्न गरियो पहिलो चरणस् असोज २६ देखि कात्तिक २, दोस्रो चरणस् कात्तिक १३ देखि कात्तिक २७,दुवै चरणमा एक वर्षमाथिका सबै व्यक्तिहरूलाई खोप उपलब्ध गराइएको थियो।
शाखा प्रमुख डा। गौतमका अनुसार यस वर्षको अभियानले ९० प्रतिशतको वरिपरिको कभरेज प्राप्त गर्दै इतिहासमै सबैभन्दा उच्च उपलब्धि हासिल गरेको हो। विगतका अभियानहरूमा केवल ७०–८० प्रतिशत जनसंख्या मात्र पुगेको थियो।यसपटक भने स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायकै सक्रिय सहभागितामा घर–घर गएर खोप लगाउने रणनीति अपनाइएकाले अभूतपूर्व सफलता प्राप्त भएको बताइएको छ।
“घरमै पुगेर खोप वितरण गरियो। कमजोर, सीमान्तकृत तथा जोखिममा रहेका समूहलाई प्राथमिकताका साथ समेटियो। त्यसैले यो कभरेज सम्भव भयो,” – डा. गौतमले बताए। हैजाको प्रकोप तीव्र बनेपछि स्वास्थ्य सेवा विभागले बाराका ६ स्थानीय तह र पर्साका १४ स्थानीय तहलाई प्राथमिकता क्षेत्र घोषणा गर्दै खोप अभियान सञ्चालन गरेको थियो। यी क्षेत्रहरूमा संक्रमितको संख्या तीव्र रूपमा बढेपछि तत्काल खोप उपलब्ध गराउने निर्णय गरिएको थियो।
स्वास्थ्य विशेषज्ञका अनुसार हैजा जस्ता रोगहरूमा खोप अभियानको प्रभाव अत्यन्त महत्त्वपूर्ण हुन्छ। सुरक्षित खानेपानी, सरसफाइ र जनचेतनासँगै खोपले संक्रमणलाई ठूलो मात्रामा रोक्न मद्दत गर्छ।
पर्सा–बारा क्षेत्रमा उच्च जनघनत्व, खानेपानीको असमान पहुँच र सीमाका गतिविधि बढी हुने भएकाले हैजाको जोखिम पछिल्ला वर्षहरूमा बारम्बार देखिँदै आएको छ। यस सफल अभियानपछि आगामी वर्षहरूमा पनि यस्तै व्यापक र पहुँचमुखी खोप अभियान सञ्चालन गर्ने योजना स्वास्थ्य विभागले तयार गरेको छ।