काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिप २०२६ को खेलहरू शुक्रबार (आज)देखि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुँदैछन्।
पहिलो खेलमा पाकिस्तानको टिम कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन खेल खेल्नेछन्।
दुवै टिम प्रतियोगितामा सकारात्मक सुरुवात चाहन्छ। भुटानको प्रतिनिधित्व गरेको ट्रान्सपोर्ट युनाइटेय लेडिज एफसीमा ९० प्रतिशत भुटानका राष्ट्रिय टिमका खेलाडी छन्। राष्ट्रिय टिमको अनुभवसहित केही हप्ताको तयारीसहित ट्रान्सफोर्ड युनाइटेड लेडिजले कराँचीको सामना गर्नेछन्।
पाकिस्तानको प्रतिनिधित्व गरेको कराँची एफसी यो प्रतियोगिताबाट अनुभव संगाल्ने दाउमा हुनेछ। यो प्रतियोगिताले दक्षिण एसियाको फुटबल उकास्न सहयोग गर्ने दाबी टिमका मुख्य प्रशिक्षक आदिल रिज्कीले गरे।
शुक्रबारको दोस्रो खेलमा नेपालको विभागीय टिम एपीएफ एफसी र बंगलादेशको क्लब नास्रिन स्पोर्टस एकेडेमीले खेल्नेछन्। दोस्रो खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।
नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफमा दुई जना पुलिसका खेलाडी पनि अनुबन्ध गरी टिम बलियो बनाएको छ। अनिता बस्नेतको नेतृत्वमा रहेको एपीएफ घरेलु मैदानमा राम्रो प्रदर्शन गर्न चाहन्छ। एपीएफ टिमका प्रशिक्षक जिवेश कुमार पाण्डेले यो प्रतियोगिता उदीयमान खेलाडीहरूको लागि राम्रो हुने बताए।
अनिता बस्नेत घरेलु टिमले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छिन्। उनले भनिन्,‘पहिलो पटक हामी क्लब च्याम्पियनसिप खेल्नका लागि निकै उत्साहित छौँ।’ एपीएफ टिमले सामूहिक रूपमा तयारी गर्न नपाए पनि मानसिक र शारीरिक रूपमा तयार रहेको अनिताले प्रि म्याच प्रेस कन्फ्रेन्समा बताएकी थिइन्।
बंगलादेशको टिम नास्रिक स्पोर्टस एकेडेमी पनि राम्रो तयारी लिएर नेपाल आएको छ। अनुभवी खेलाडी र युवा खेलाडीको समीश्रण रहेको छ। चार जना राष्ट्रिय टिमका खेलाडी रहेका छन् । यो टिममा यू–१७ र यू–२० टिमका युवा खेलाडीको साथमा पूर्व राष्ट्रिय टिमकी कप्तान सबिना खातुन पनि रहेकी छन्।
प्रतियोगितामा कुल पाँच टिमले सहभागिता जनाउनेछन्। नेपालबाट विभागीय टोली एपीएफ, भारतको इस्ट बंगाल, पाकिस्तानको कराँची एफसी, बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी रहेका छन्।