अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ स्थानको डढेलो नियन्त्रणबाहिर छ ।
ती क्षेत्रमा फैलिएको डढेलो मानव बस्तीमा पुग्दा कम्तीमा १६ घर नष्ट भएका छन् । तीमध्ये बुलाह्देला र कोलोबोङका धेरै घर परेको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ र अपर हन्टरको मिल्सन्स गली क्षेत्रमा डढेलोको अवस्था विकराल छ ।
कोलोबोङको निम्बिन रोड, गोसफोर्ड र वोयवोयको बीचमा बस्ने स्थानीय बासिन्दालाई डढेलो प्रभावित क्षेत्र तत्काल छोड्न भनिएको छ । समुुद्री तटका नजिकैका बस्तीदेखि बाक्लो वनजंगलसम्म आगो फैलिएको छ । आगोको मुस्लो र धुँवाका कारण वातावरण प्रदूषित हुनुका साथै मानिसहरू जोखिममा परेका छन् । सरकारले डढेलो नियन्त्रण गर्न दमकलहरू पठाएको छ । तर, आगो नियन्त्रण गर्न कठिन हुँदा आगो नियन्त्रकहरू आकुल–ब्याकुल भइरहेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ क्षेत्रमा डढेलोले धेरै घरहरू जलाइदिएको छ । रेलका लाइन नजिकैका घरहरूसमेत आगोले पूर्णरूपमा ध्वस्त भएका छन् । जसका कारण यातायात प्रभावित भएको छ । राज्यमा अहिले गर्मीको लहर छ । तापक्रम ४० डिग्रीसेल्सियस नजिक पुगेकाले सुक्खा र तातो हावाले आगो थप फैलिने खतरा बढाएको छ । गोलबर्न नदी राष्ट्रिय पार्कको डढेलोले ८ हजार ६०० हेक्टर क्षेत्र जलाइसकेको छ ।
अस्ट्रेलियन टेलिभिजनहरूले एनएसडब्ल्यू सेन्ट्रल कोस्टको कोलोबोङमा लागेको आगलागीका कारण धेरै घरहरू जलेर नष्ट भएको दृश्य देखाइरहेका छन् । शनिबार फैलिएको डढेलोलाई धेरैले निकै डरलाग्दो भनेका छन् । एनएसडब्ल्यू ग्रामीण आगो सेवाका प्रवक्ताले राज्यभरि उच्च तापक्रम र तेज हावाका कारण ५० भन्दा बढी स्थानमा आगलागी भइरहेको बताएका छन् ।
९ स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी बढ्दै जाँदा क्रफोर्ड नदी नजिकैको बुराल रोड क्षेत्र हुँदै प्यासिफिक हाइवेका दुवै छेउ पार गरेको छ । त्यहाँ शनिबार पनि आगो दन्किइरहेको छ । जसका कारण राजमार्गसमेत केही समयका लागि बन्द गर्नु परेको थियो । आगलागीका कारण क्षेत्रीय रेल सेवा प्रभावित भएको छ । गोसफोर्ड र होन्र्सबी बीचको रेल सेवा रोकिएको थियो ।
मौसम विज्ञान ब्युरोकी मौसमविद् क्रिस्टी जोनसनले तीन दिनदेखि लगातार तापक्रम बढेको बताएकी छन् । ‘सबैले सुरक्षित रहनु जरुरी छ’ उनले भनिन्, ‘आगोको चरम जोखिम कायमै छ ।’ ग्रेटर सिड्नी, सेन्ट्रल रेन्जेस, नर्थ वेस्टर्न, इलावारारशोलहाभेन, ग्रेटर हन्टर, अपर सेन्ट्रल वेस्ट प्लेन्स, नर्दन रिभरिना, लोअर वेस्ट सेन्ट्रल प्लेन्स र इस्टर्न रिभरिनामा शनिबारका लागि घरबाहिर आगो बाल्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । जंगलबाट बस्तीतर्फ फैलिएको डढेको नियन्त्रण गर्न हेलिकप्टरहरूले पानीको वर्षा गरिरहेका छन् । तर, क्षतिको विवरण अझै आइसकेको छैन ।
न्यू साउथ बेल्स ग्रामीण अग्नि सेवाका सहकमिश्नर लेह पिल्किङटनले भनेका छन् ‘दुर्भाग्यवश हामीसँग १२ घरभन्दा बढी नष्ट भएको रिपोर्ट आएको छ ।’ उनले अहिले करिब २५० भन्दा बढी दमकलकर्मी, ५० बढी दमकल ट्रक र अन्य यन्त्र सँगै हवाई स्रोत हेलिकप्टर÷जहाजबाट समेत आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएका छन् । प्रभावित क्षेत्रका मानिसको उद्धार सँगै बचाउने कार्यहरू जारी रहेको बताएका छन् ।