आनन्द पटेल
रानीघाट स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगञ्जका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे विस्तृत रूपमा जानकारी प्रदान गरेका छन्।
सभा हलमा आयोजित कार्यक्रममा गणपति कार्कीले विद्यार्थीहरूलाई स्वदेशको इतिहास, संस्कृतिलेखन, भू–राजनीतिक महत्व तथा सामाजिक विकासका चरणहरूबारे सरल र प्रेरणादायी शैलीमा मार्गदर्शन गरेका थिए।
उनका अनुसार, ‘‘किताबी ज्ञान मात्र पर्याप्त हुँदैनस विद्यार्थीले देशको भौगोलिक, सांस्कृतिक र सामाजिक स्वरूपको गहिरो बुझाइ राख्न आवश्यक छ,’’ भनेर उनले ऐतिहासिक चेतनाले व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

कार्यक्रममा उनले नेपाल र विदेशमा नेपाली सेनाले निर्वाह गर्दै आएका सेवा र योगदानबारे पनि उदाहरणसहित व्याख्या गरे। यसमा विपद् व्यवस्थापन, भूकम्प र दुर्घटनामा उद्धार, भौतिक पूर्वाधार निर्माण, सामाजिक तथा स्वास्थ्य सेवा, साथै संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा नेपाली सेनाको महत्वपूर्ण भूमिकासमेत समेटिएको थियो।
गणपति कार्कीका प्रस्तुति सुनेका विद्यार्थीहरूले नेपाली सेनाको ऐतिहासिक योगदानबारे जान्न पाएकोमा गर्व र उत्साह व्यक्त गरे। उनीहरूले देशको पौराणिक तथा ऐतिहासिक पक्षबारे नयाँ ज्ञान प्राप्त गर्न पाउँदा निकै खुसी भएको बताए।
कार्यक्रमको अध्यक्षता विद्यालयका संचालक शिव गुप्ताले गर्दै, यस्ता कार्यक्रमले विद्यार्थीहरूमा देशप्रेम, अनुशासन र उद्देश्यपूर्ण सोच विकास गर्न ठूलो सहयोग पुग्ने बताए। विद्यालयका शिक्षक उज्वल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।