वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ आजदेखि मधेस प्रदेशको दुई दिने भ्रमणमा निस्कँदै छन् । अलपत्र पूर्वाधार आयोजनाहरूको स्थलगत निरीक्षण, स्थानीयसँग प्रत्यक्ष संवाद र विकास–शान्तिको सन्देश प्रवाह गर्नु उनको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
भ्रमणको सम्पूर्ण व्यवस्थापन तथा समन्वय उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य इन्जिनियर अरविन्द साहले गरेका छन् । आज (बिहीबार) साँझ सिमरा हुँदै वीरगञ्ज आइपुग्ने कार्यक्रम रहेको छ । वीरगञ्ज आगमनपछि मन्त्री घिसिङले सहरका विभिन्न अधुरा पूर्वाधार आयोजनाहरूको अवलोकन गर्नुका साथै स्थानीय राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता र युवाहरूसँग छलफल गर्नेछन् ।
शान्ति–सुरक्षा, विकास निर्माण र आगामी निर्वाचनको वातावरणका विषयमा पनि विस्तृत छलफल हुने जनाइएको छ । आजै साँझ वीरगञ्ज सहरको अवलोकन भ्रमणको कार्यक्रम पनि रहेको छ ।
भोलि (शुक्रवार) बिहान सबैभन्दा पहिले मन्त्री घिसिङ बाराको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन तथा पूजा गर्नेछन् । त्यसपछि कलैयामा ३ किलोमिटर लामो अधुरो सडक खण्डको स्थलगत निरीक्षण गरी समस्याको समाधानका लागि तत्काल निर्देशन दिनेछन् ।
त्यसैगरी, पथलैया नजिकैको दुधौरा खोला पुल र १५ वर्षदेखि अलपत्र परेको रौतहटको बरहथवा पुलको पनि उनले प्रत्यक्ष निरीक्षण गर्ने कार्यक्रम छ । दुवै आयोजनालाई तत्काल अघि बढाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने साहले जानकारी दिए ।
दिउँसो रौतहटको चपुरस्थित जन्मोत्सव पार्कमा आयोजना हुने विशेष कार्यक्रममा मन्त्री घिसिङले स्थानीयलाई सम्बोधन गर्नेछन् । त्यसपछि गौरमा रहेको शिव मन्दिरको दर्शन, गौर नगरको सामाजिक–आर्थिक तथा पूर्वाधार अवस्थाको अध्ययन र सम्बन्धित निकायलाई निर्देशन दिएपछि उनी चितवन प्रस्थान गर्नेछन् ।
केन्द्रीय सदस्य अरविन्द साहका अनुसार मन्त्री घिसिङको भ्रमणले मधेसका जनताको लामो समयदेखिको पूर्वाधारसम्बन्धी पीडालाई सम्बोधन गर्ने र विकास निर्माणमा नयाँ गति दिने अपेक्षा गरिएको छ । उनले सबै राजनीतिक दल, समाजसेवी र स्थानीय बासिन्दालाई भव्य स्वागत र सहभागिताका लागि आह्वान समेत गरेका छन् ।