काठमाडौं- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो। यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ।
पहिलो संस्करणमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। लुम्बिनीलाई पहिलो पटक च्याम्पियन बनाउन कप्तानकुमार रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरूको धारिलो बलिङ सामु धराशयी बनेको सुदूरपश्चिम ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। निकै आक्रामक सुरुवात गरेको लुम्बिनीले पहिलो ओभरमै २७ रन जोडेको थियो।
लुम्बिनीका दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै २७ रन जोडेका थिए। दिनेशले १३ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए। पहिलो विकेटका लागि दिनेशले डार्सी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए। हेमन्त धामीले गरेको पाँचौं ओभरमा डार्सी सर्ट र दिनेश पेभेलियन फर्किएका थिए। सर्टले १३ रन बनाउँदा कप्तान रोहितले १६ र निरोसन डिक्वेलाले अविजित ११ रन बनाए।
दिलिप नाथले विजयी रन जोडेका थिए। सुदूरपश्चिका हेमन्त धामीले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले एक÷एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९।१ ओभरमा ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए।
उनले ५१ बलमा एक चौका प्रहार गरे। कप्तान दीपेन्द्रले १३ रन बनाउँदा हरमित सिंह र स्कट कुग्गेलेइनले समान १० रन जोडे। सुदूरपश्चिमलाई धराशयी बनाउन लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले तीन÷तीन विकेट लिए। रोहितले ११औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।
उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई पेभेलियन फर्काएका थिए। उनले चार ओभरमा जम्मा १२ रन खर्चिएका थिए। यस्तै ट्रम्पलम्यानले २.१ ओभरमा तीन रन खर्चिएर तीन विकेट लिएका थिए। ट्रम्पलम्यानले विनोद भण्डारी, सेल्डन ज्याक्सन र अभिनाश बोहराको विकेट लिएका थिए।
यसैगरी शेर मल्लले पनि चार ओचरमा १८ रन खर्चिएर तीन विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा विराटनगर किङ्सका सन्दीप लामिछाने र सुदूरपश्चिमका अभिनाश बोहरासँगै संयुक्त रुपमा शीर्ष स्थानमा रहे। उनीहरू तीनै जनाले समान १७ विकेट लिएका थिए।