दिपेन्द्र जयसवाल, बारा
बाराको सपहीमा सञ्चालनमा रहेको श्री अटुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिशुन दयाल प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संस्थाको समग्र प्रगति, आर्थिक अवस्था र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।
साधारण सभाको औपचारिक उद्घाटन संस्थाका जेष्ठ सल्लाहकार बिरेन्द्रराज अधिकारीले दीप प्रज्वलन ९मैनबत्ती बालेर० गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, बचतको प्रवर्द्धन र सदस्यहरूको जीवनस्तर सुधारमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले पारदर्शिता, अनुशासन र सदस्यमैत्री सेवामार्फत सहकारीलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष बिशुन दयाल प्रसाद चौधरीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बितेको वर्षमा गरिएका गतिविधि, उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले सदस्यहरूको सक्रिय सहभागिता र विश्वासकै कारण सहकारी निरन्तर प्रगतिपथमा अघि बढिरहेको बताउँदै आगामी दिनमा सेवा विस्तार, प्रविधिको प्रयोग र वित्तीय अनुशासनलाई अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी, आर्थिक वर्ष २०८२र०८३ का लागि तयार पारिएको लेखा प्रतिवेदन लेखा संयोजक मुनिकान्त चौधरीले साधारण सभासमक्ष प्रस्तुत गर्नुभयो। उहाँले आय–व्यय विवरण, नाफा–नोक्सान स्थिति र वित्तीय पारदर्शिताबारे स्पष्ट जानकारी दिँदै सदस्यहरूको हितलाई केन्द्रमा राखेर आर्थिक योजना बनाइएको बताउनुभयो।
साधारण सभामा शुभकामना मन्तव्य राख्ने क्रममा बोधराज सुबेदी, शिक्षक बिरेन्द्र चौधरी, उमेश चौधरी, तेजप्रताप चौधरी, कृष्ण चौधरीलगायत वक्ताहरूले सहकारीको निरन्तर प्रगतिको कामना गर्दै संस्थाले समुदायमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। वक्ताहरूले सहकारीलाई थप प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा बाल बचतकर्ताहरूलाई दोसल्ला र गम्छा ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले सहकारीप्रति विश्वास र लगनशीलताका साथ सेवा लिने र सहकारीको उन्नतिमा योगदान दिने प्रतिबद्धता जनाएका थिए।
साधारण सभामा संस्थाका सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू, शेयर सदस्य तथा शेयरधनीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सफल सञ्चालन संस्थाका सचिव हितेन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो।
समग्रमा, १४औँ वार्षिक साधारण सभाले श्री अटुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई थप सुदृढ, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने स्पष्ट दिशानिर्देश प्रदान गरेको सहभागीहरूले बताएका छन्।