हिन्दू सम्राट नेपाल, पर्साले विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक तथा धार्मिक गतिविधिबारे गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको उक्त पत्र हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कार्य समितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलीले हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा विद्यालय शिक्षा राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै छात्रछात्रा देशका कर्णधार भएकाले उनीहरूका बीच कुनै पनि किसिमको विभाजन वा विवाद नउठोस् भन्ने उद्देश्यले विद्यालय पोसाकमा एकसमानता आवश्यक रहेको दाबी गरिएको छ। संगठनले सरकारी तथा निजी विद्यालयमा अध्ययनरत सबै छात्रछात्राका लागि समान विद्यालय पोसाक लागू गरिनुपर्ने माग अघि सारेको छ।
हिन्दू सम्राट नेपालले विद्यालय पोसाकमा धार्मिक पहिचान झल्किने पहिरन प्रयोग गर्दा छात्रछात्राबीच विभाजनको भावना बढ्न सक्ने तर्क गरेको छ। ज्ञापनपत्रमा विद्यालयभित्र हिजाब वा बुर्का लगाउने अभ्यासले सामाजिक सद्भावमा असर पार्न सक्ने उल्लेख गर्दै, यस्तो अभ्यास तत्काल बन्द गरिनुपर्ने सुझाव दिइएको छ।

संगठनको भनाइमा विद्यालय शिक्षा धर्मनिरपेक्ष र समानतामूलक हुनुपर्छ, जहाँ सबै विद्यार्थी एउटै नियम र पहिरनमा अध्ययन गर्न पाउनुपर्छ। साथै, ज्ञापनपत्रमा मुस्लिम धर्मावलम्बी छात्राहरूलाई धार्मिक शिक्षा र पहिचानसहित अध्ययन गर्न चाहनेहरूका लागि इस्लामिक विद्यालयहरू उपयुक्त हुन सक्ने सुझावसमेत दिइएको छ। यसले धार्मिक आस्थाको सम्मान गर्दै पनि सामान्य विद्यालयमा एकरूपता कायम गर्न सकिने संगठनको तर्क छ।
हिन्दू सम्राट नेपालले आउँदो डिसेम्बर २५ (क्रिसमस डे) का अवसरमा विद्यालयहरूमा हुने गतिविधिबारे पनि ध्यानाकर्षण गराएको छ। पत्रमा क्रिसमसको नाममा हिन्दू विद्यार्थीहरूलाई जबरजस्ती ‘सान्टा’ बनाउने वा उनीहरूको धार्मिक आस्थाविरुद्धका गतिविधि गराउन नहुने स्पष्ट माग गरिएको छ। संगठनले विद्यालयहरू सबै धर्मप्रति समान दूरी राख्दै कुनै पनि विद्यार्थीलाई आफ्नो धर्म वा संस्कृतिविरुद्धको गतिविधिमा बाध्य पार्न नहुनेमा जोड दिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले उठाइएका विषयहरू गम्भीर रहेको भन्दै कानुन, संविधान र शिक्षा नीतिको दायराभित्र रहेर अध्ययन गरिने बताएका छन्। सबै समुदायबीच सामाजिक सद्भाव कायम राख्दै शिक्षा क्षेत्रमा शान्ति र सहअस्तित्व सुनिश्चित गर्ने विषयमा प्रशासन संवेदनशील रहेको उनले बताएका छन्। विद्यालय पोसाक, धार्मिक स्वतन्त्रता र समानताका विषयमा उठेको यस बहसले पर्सा जिल्लासहित देशभर शिक्षा क्षेत्रमा धर्म र समानताको सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नलाई पुनः सतहमा ल्याएको छ।