वीरगञ्ज । वीरगञ्जस्थित महावीर मन्दिर नजिक मंगलबार पूर्व राजा महेन्द्र शाहको १०६औँ जन्मजयन्ती धुमधामका साथ मनाइएको छ। देशभक्त राजभक्त पर्सा, वीरगञ्जको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानबाट आएका देशभक्त तथा राजभक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
देशभक्त राजभक्तका केन्द्रीय अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न जन्मजयन्ती समारोहमा सहभागी वक्ताहरूले राजसंस्था पुनःस्थापनाको माग गर्दै ‘राजा चाहियो’ भन्ने नाराबाजी गरेका थिए। उनीहरूले राजसंस्थाले मात्र देशमा शान्ति, स्थायित्व र सुशासन कायम गर्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रौनियारले देशमा भ्रष्टाचार मौलाएको, सुशासनको अनुभूति जनताले गर्न नसकेको र महँगी बढ्दै गएको भन्दै वर्तमान शासन व्यवस्थाको आलोचना गरे। उनले यस्तो अवस्था अन्त्य गर्न वैकल्पिक व्यवस्था आवश्यक रहेको बताए।
जन्मजयन्ती समारोहमा महेन्द्र प्रसाद साह, शम्भु चौरसिया, पूर्व लायन्स क्लब गभर्नर तथा नेपाल–भारत मैत्री संघका पूर्व अध्यक्ष राजकुमार सिन्धी, अब्दुल सतार अन्सारी, जनकलाल साह, अनुराणा शाह, वीरेन्द्र थापा, ध्रुव सिंह ठकुरी, कमल घिमिरे, सुशील लामा लगायतको उपस्थिति रहेको थियो।