गत बुधवार समाचार सङ्कलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्र्यवहार गरेको घटनाविरुद्ध प्रेस चौतारी नेपाल पर्साले आज प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष जाहेरी दर्ता गराएको छ। प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको सञ्चारकर्मीहरूको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकारमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गर्न माग गरेको हो।
फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि गत बुधवार जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र, इन्द्रजीत हजरा लगायतले अपशब्द प्रयोग गर्दै मोबाइल फोन खोसी फोटोहरू डिलिट गरेको आरोप लगाइएको छ। कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित रहेको अवस्था तस्बिरमा कैद गर्ने क्रममा पत्रकारमाथि उक्त दुव्र्यवहार भएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि प्रजिअ दाहालले घटनाको छानबिनका लागि जीराभवानी गाउँपालिकाका कर्मचारी मिश्र र हजरालाई मौखिक आदेश दिँदै मंगलबार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएका छन्। प्रजिअ दाहालले पत्रकारमाथि अभद्र व्यवहार गर्ने दोषी कर्मचारीमाथि कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन्। जाहेरी बुझाउने टोलीमा प्रेस चौतारी नेपाल पर्साका निरन्जन मिश्र, विजय (तुलसी) भण्डारी, किरण सत्याल, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, एसके चौरसिया, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साहलगायत सहभागी थिए।
यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि आज प्रेस विज्ञप्ति जारी गर्दै फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक शैलेश साह कानूमाथि समाचार संकलनको क्रममा भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा घटनाको भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाहीको माग गरिएको छ। साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षा र सञ्चारकर्मी तथा समग्र सञ्चार क्षेत्रको सुरक्षाप्रति सरोकारवाला पक्ष संवेदनशील बन्नुपर्ने माग पनि गरिएको छ।