वीरगञ्ज– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जले दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र T-10 नकआउट क्रिकेट प्रतियोगिता बुधबारदेखि वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा सुरु गरेको छ। प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको हो।
उद्घाटन समारोहमा नगर प्रमुख सिंहले प्याब्सनले विद्यार्थीहरूको खेलकुद र शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेकोमा प्रशंसा गर्दै, खेलकुद क्षेत्रमा केवल खेलमै ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भने, "विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकासले राष्ट्र र समाजका लागि ठूलो योगदान पुर्याउँछ।"
प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न निजी विद्यालयबाट ३३७ जना छात्रा र ४३४ जना जुनियर छात्र सहभागी छन्। अध्यक्ष श्रीवास्तवका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिता अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइएको छ। उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, शिल्ड र पुरस्कारमार्फत सम्मान गरिनेछ।
प्रतियोगिता सञ्चालनमा करिब ६–७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा खेल सामग्री, पुरस्कार र व्यवस्थापन खर्च समावेश छन्। प्रतियोगितामा छात्रातर्फ कक्षा १० सम्मका विद्यार्थी र जुनियर छात्रतर्फ कक्षा ६ सम्मका विद्यार्थी सहभागी छन्।
उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रज्ञिक परिषद्का केन्द्रीय सदस्य डा। हरि शंकर साह, मधेस प्रदेशका वरिष्ठ सल्लाहकार मनि पाख्रिन, लालबाबु राउत कुर्मी, इमामुदिन अहमद, प्याब्सन जिल्ला कार्यसमिति पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, सचिव अशोक संग्रोला, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा लगायतले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सहजिकरण प्याब्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो।

