वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया युवती मृत अवस्थामा भेटिएपछि घटनाको निष्पक्ष छानबिनको माग गर्दै परिवारजन र स्थानीयले वीरगञ्जमा प्रदर्शन गरेका छन्।
मङ्सिर २७ गते शनिबार रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घको धर्मशालाको कोठा नम्बर १०५ मा मृत भेटिएकी युवती पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी सुनिता स्यान्बो हुन्। घटनालाई शङ्कास्पद ठहर गर्दै उनका परिवारका सदस्यहरूले बुधबार न्यायको मागसहित प्रदर्शन गरेका हुन्।
परिवारले सुनिताको हत्या भएको दाबी गर्दै दोषी पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने, साथै उनी कार्यरत रेस्टुराँले क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन्।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा परिवारजन र स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरूले ठूलो संख्यामा र्याली निकाल्दै जिल्ला प्रहरी कार्यालयसमेत पुगेका छन्।
पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई आत्महत्याजस्तो देखिएको बताएको छ। तर विस्तृत छानबिन र पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण पुष्टि हुने पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० सुदीप राज पाठकले जानकारी दिए। घटनामा संलग्नताको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिए पनि उनीहरूको अवस्थाबारे हालसम्म विवरण सार्वजनिक गरिएको छैन।
यता, घटनास्थलमा पुगेका स्थानीय र वडा सदस्यहरूले शव उठाउने क्रममा नियम विपरीत काम गरिएको र जनप्रतिनिधि नपुग्दै शव खाटमा राखिएको आरोप लगाएका छन्। त्रिशला रेस्टुराँ स्थानीय युवा अनमोल कुमारद्वारा सञ्चालित रहेको जनाइएको छ। प्रहरीले उनलाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको भए पनि हालसम्म पक्राउ गरिएको छैन।
