नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे केन्द्रित पत्रकार अन्तरक्रिया कार्यक्रम शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। एड्स हेल्थ केयर फाउन्डेसन नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र को संयुक्त आयोजनामा होटल मकालुमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रका निर्देशक डा. सर्वेश शर्मा ले सन् २०३० सम्म नेपालमा एड्स इपिडेमिक अन्त्य गर्ने राष्ट्रिय लक्ष्यअनुसार समावेशी र पहुँचयोग्य सेवा विस्तारमा केन्द्र सक्रिय रूपमा लागिरहेको जानकारी दिए। उनका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जना एचआइभी सङ्क्रमित रहेका छन्, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन्। १४ वर्षमुनिका सङ्क्रमितको सङ्ख्या १ हजार ५८ रहेको छ भने मधेस प्रदेशमा ४ हजार ६८७ जना उपचाररत छन्।
उनले हाल देशका ६४ जिल्लामा रहेका ९६ वटा एआरटी सेन्टरमार्फत एचआइभीसम्बन्धी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूमा सङ्क्रमणको जोखिम उच्च रहेको बताए। सङ्क्रमित आमाबुबालाई नियमित औषधि सेवनमा जोड दिनुका साथै बालबालिकामा सङ्क्रमण रोकथामका लागि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल ले सीमा क्षेत्र एचआइभीका दृष्टिले संवेदनशील रहेकाले यस्ता विषयमा मिडियाले निरन्तर उठान र सहकार्य गर्नुपर्ने बताए। सही सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा र वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साह ले जिल्लास्तर तथा महानगरभित्र एचआइभी परीक्षण, उपचार र सचेतनाका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराए।
एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठ ले एएचएफ ४९ देशमा एचआइभी तथा यौन रोगको क्षेत्रमा कार्यरत गैरनाफामूलक संस्था रहेको र विश्वभर करिब २६ लाख सङ्क्रमितलाई सेवा प्रदान गर्दै आएको बताए। एएचएफले सन् २००९ देखि टेकु अस्पतालमार्फत नेपालमा एआरटी सेवा सुरु गरी हाल १७ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले दिए।
कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटा ले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डे ले गरेका थिए।