पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको आगमनसँगै जिल्लामा लागूऔषध नियन्त्रण अभियान थप सशक्त र प्रभावकारी बन्दै गएको छ। जिम्मेवारी सम्हालेसँगै अवैध लागूऔषध कारोबारविरुद्ध कडा रणनीति अपनाउँदै आएको पर्सा प्रहरीले पछिल्लो समय उल्लेखनीय सफलता हात पारेको छ। सोही अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेससहित दुई जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउँसो वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्ति, बरामद लागूऔषध तथा सवारी साधन सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक सुदीपराज पाठकले विशेष सूचनाका आधारमा गोप्य निगरानी गर्दै गरिएको कारबाहीका क्रममा २ सय ४० किलो चरेस बरामद गरिएको बताए। उनका अनुसार यो परिमाण पर्सा जिल्लामा हालसम्मकै ठूलोमध्ये एक मानिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू मकवानपुर जिल्लाको थाहा नगरपालिका–१९ का सरोज मोक्तान र नवराज लो रहेका छन्। उनीहरू वीरगञ्ज महानगरपालिका क्षेत्र हुँदै भारततर्फ लागूऔषध ओसारपसार गर्ने तयारीमा रहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। प्रारम्भिक अनुसन्धानमा चरेस जगरनाथपुर नाकाको आसपास प्रयोग गरी गन्तव्यतर्फ लैजान लागिएको खुलेको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले उनीहरूले प्रयोग गरिरहेको ना ३ ख ५०९३ नम्बरको ६ चक्के ट्रकसमेत बरामद गरेको छ। उक्त ट्रकभित्र लुकाइछिपाई राखिएको अवस्थामा ठूलो परिमाणको चरेस फेला परेको प्रहरीले जनाएको छ। एसपी पाठकले लागूऔषध कहाँबाट ल्याइएको हो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको बताए। साथै, यस कारोबारमा संगठित गिरोहको संलग्नता रहेको आशंकामा अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको उनले जानकारी दिए।
पक्राउ परेकाहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र प्रमाण संकलनपछि मुद्दा दर्ता गरिने तयारी भइरहेको प्रहरीको भनाइ छ।
स्थानीय स्तरमा लागूऔषधको बढ्दो कारोबारले सामाजिक विकृति र अपराध बढिरहेको अवस्थामा पर्सा प्रहरीको यो कारबाहीलाई अत्यन्त महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रहरी उपरीक्षक पाठकले आगामी दिनमा पनि लागूऔषध कारोबार, तस्करी तथा आपराधिक गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्दै नागरिकको सहयोग बिना यस्तो अभियान सफल नहुने बताए।
पर्सा प्रहरीले जिल्लालाई लागूऔषध मुक्त बनाउने लक्ष्यसहित निगरानी, गस्ती र सूचनाको आधारमा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।