वीरगञ्ज महानगरपालिका वडा नं १९ स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र विन्दवासिनी माई मन्दिरमा मंगलबार मेयर राजेश मान सिहंले दर्शन तथा अवलोकन गरेका छन्। दर्शनपछि मन्दिर आसपास रहेको सार्वजनिक सम्पत्ति ९जग्गा–जमिन० को विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको छ। वर्षौँदेखि विन्दवासिनी माई मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा अनधिकृत रूपमा प्रयोग हुँदै आएको भन्दै उक्त सम्पत्तिको संरक्षण र व्यवस्थापन आवश्यक भएको मेयर सिंहले बताएका हुन् । उनले सार्वजनिक सम्पत्तिको दुरुपयोग अन्त्य गर्दै कानुनअनुसार उचित निकास निकालिने स्पष्ट गरेका छन् ।
छलफल कार्यक्रममा विन्दवासिनी माई क्षेत्रसँग जोडिएका सार्वजनिक जग्गा–जमिनको संरक्षण, सदुपयोग तथा लामो समयदेखि देखिँदै आएका कानुनी तथा व्यवस्थापनसम्बन्धी समस्याबारे गम्भीर समीक्षा गरिएको थियो। स्थानीयले सार्वजनिक सम्पत्तिमा देखिएका अतिक्रमण, दुरुपयोग तथा अस्पष्ट स्वामित्वका कारण विकास कार्य प्रभावित हुँदै आएको गुनासो राखेका थिए। कार्यक्रममा सहभागी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक सम्पत्ति राज्य र जनताको साझा धरोहर भएको उल्लेख गर्दै यसको संरक्षण तथा व्यवस्थापन कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने स्पष्ट पारे। उनले स्थानीय सरोकारवालासँग समन्वय गरेर विद्यमान समस्याको निकास दिन प्रशासन प्रतिबद्ध रहेको बताए।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण ले सार्वजनिक जग्गा–जमिनको अभिलेख अद्यावधिक, सीमांकन तथा प्रयोगसम्बन्धी विषयलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने जानकारी दिए। उनले कानुनअनुसार प्रक्रिया पूरा गरेर मात्रै कुनै पनि निर्णय गरिने स्पष्ट पारे। यसैगरी, पर्सा प्रहरी प्रमुख सुदिप राज पाठक ले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताउँदै शान्ति–सुरक्षालाई ध्यानमा राखेर सबै प्रक्रिया अघि बढाइने बताए।
कार्यक्रममा वडा नं। १९ का वडा अध्यक्ष मुकेश चौरसिया ले विन्दवासिनी माई क्षेत्र धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे। उनले स्थानीयको भावना र आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्तिको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखे। वडा सदस्यहरू उपेन्द्र यादव र विनोद चौरसिया ले सार्वजनिक जग्गा–जमिनको दुरुपयोग रोक्न स्पष्ट नीति र कार्ययोजना आवश्यक रहेको बताए। उनीहरूले स्थानीय तह, प्रशासन र प्रहरीबीच सहकार्य भएमा समस्या समाधान सहज हुने विश्वास व्यक्त गरे।
महानगरपालिकाका प्रतिनिधि हरि पोखरेल तथा महानगर प्रहरी इन्चार्ज हरि भुषालले पनि सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनमा संस्थागत भूमिका प्रभावकारी बनाइने प्रतिबद्धता जनाए। छलफलमा सहभागी स्थानीय नेताहरू सुरेन्द्र कलवार, अमित यादव र उपेन्द्र राय ले विन्दवासिनी माई क्षेत्रसँग जोडिएको सार्वजनिक सम्पत्तिको विषय लामो समयदेखि जटिल बन्दै आएको उल्लेख गर्दै अब कानुनी र व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिए।
कार्यक्रमको निष्कर्षस्वरूप सार्वजनिक जग्गा–जमिनसम्बन्धी विषयमा कानुनी प्रक्रिया अनुसार निकास दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी तथा महानगरपालिकाबीच समन्वय गरेर छिटोभन्दा छिटो समाधान निकाल्ने सहमति पनि भएको छ। स्थानीय बासिन्दाहरूले यस पहलले विन्दवासिनी माई क्षेत्रको संरक्षण, विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।