फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक हप्ता भित्र क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न वडामा वृहत भेटघाट गर्दै कमिटी बिस्तारमा जोड दिएका छन । उनले एक साताको अवधिमा वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २,१४ ,१५,१६,१८,२१,२३, ३१र ३२ मा पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका छन् ।सर्राफले ति वडाका बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरेको बताए । संगठनलाई थप मजबुत बनाउने उद्देश्यले स्थानीय स्तरमै जिम्मेवारी बाँडफाँड गर्दै जनमत पार्टीको आधार विस्तारमा जोड दिइएको सर्राफले बताए ।
जनताको दैनिक जीवनसँग जोडिएका समस्या, विकासका अवरोध तथा प्रशासनिक झन्झटहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको सर्राफले बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए ।
भेटघाटका क्रममा सर्राफले स्थानीय बासिन्दाले उठाएका समस्या तत्काल सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहलसमेत गरेको क्षेत्र नम्बर १ का पर्यवेक्षक डा.मनोज कुमारले जानकारी दिए ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत को भिजन र नेतृत्वले मात्र मधेश, प्रदेश तथा देशको समग्र विकास सम्भव हुने सर्राफको दाबी थियो । उनले वैकल्पिक राजनीतिक धारका रूपमा जनमत पार्टीलाई स्थापित गर्न कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।
जनमत पार्टी पर्साले आगामी दिनमा पनि घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने पर्यवेक्षक मनोज कुमारले जानकारी दिए । फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको छ भने जनमत पार्टीले संगठनात्मक सक्रियतामार्फत आफ्नो उपस्थिति बलियो बनाउदै लगेको छ ।भेटघाट टोलिमा बिध्यालाल प्रसाद, सिए देवराज,निराजन कुशवाहा,नागेन्द्र गुप्ता, सहनवाज राकि लगायतको सक्रिय भुमिका रहेको थियो ।
