निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्लस एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलबार सम्पन्न भएको छ। आदर्शनगरस्थित रंगशालामा भएको प्रतियोगितामा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए ।
फाइनल खेलमा जुनियर बोयजतर्फ ब्लु हेभन स्कूलले साउथ जोन स्कूललाई पराजित गर्दै यस वर्षको च्याम्पियन बने । साउथ जोन स्कूल उपविजेतामा सीमित रह्यो। त्यस्तै, गर्लसतर्फ लिटिल फ्लावर एकेडेमी स्कूलले नेशनल एकेडेमी स्कूललाई हराउँदै च्याम्पियनको उपाधि हात पारे। नेशनल एकेडेमी स्कूलले उपविजेताको सन्तोष लिन बाध्य भयो।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी प्रीति साहनीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरिएको थियो। गल्र्सतर्फ साउथ जोन माध्यमिक विद्यालय र जुनियर बोयजतर्फ मनकामना सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए।
विजेता तथा उपविजेता विद्यालयहरूलाई वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले शील्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो। उहाँले कार्यक्रममा शिक्षा मात्र नभई खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। साथै, केही चुनौतीहरू भए तापनि महानगरपालिकाले आगामी दिनमा खेलकुद गतिविधि प्रोत्साहित गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।साथै, प्रमुख अतिथिले खेलकुदले व्यक्तिगत विकाससँगै समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक योगदान पुर्याउने उल्लेख गर्दै विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय हुन प्रेरित गर्नुभयो।
समापन समारोह प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, प्याब्सन जिल्ला अध्यक्ष स्वरूप प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति थियो।
कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन वीरगञ्ज नगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले व्यक्त गर्नुभयो भने सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो।
