बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक विद्यालय, बुधगाइको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित एसईई अध्ययन सीप तथा व्यक्तित्व विकास कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
बाराको गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष राज कुमार गुप्ता को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी राय सहभागी रहनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत मुकेश मिश्र, शिक्षा शाखा प्रमुख जालमती, गाउँपालिकाभरिका सबै वडाध्यक्षहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, सञ्चारकर्मीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षक तथा मोटिभेशनल वक्ताका रूपमा प्रदीप कुमार साह रहनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई एसईई परीक्षाको प्रभावकारी तयारी, समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव नियन्त्रणका विषयमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।
परीक्षा नजिकिँदै गर्दा नियमित र योजनाबद्ध अध्ययन, कठिन विषयमा विशेष ध्यान, साना–साना विश्रामसहित अध्ययन गर्ने तरिका अपनाउनुपर्नेमा जोड दिँदै साहले विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। साथै उहाँले व्यक्तित्व विकासका विविध पक्ष, सकारात्मक सोच र लक्ष्य निर्धारणका विषयमा समेत प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको समग्र प्रबन्धन तथा निर्देशन पुनम यादव ले गर्नुभएको थियो भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ता ले गर्नुभएको थियो।कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले आफूहरूमा आत्मविश्वास, सकारात्मक सोच र योजनाबद्ध तयारीको विकास भएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले यस्ता शैक्षिक, अभिमुखीकरण तथा विद्यार्थी–केन्द्रित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।