मानव सेवा आश्रम वीरगन्ज शाखाको ८औँ वार्षिक उत्सव शनिबार वीरगन्जमा सम्पन्न भएको छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आश्रमले एक वर्षभित्र सम्पन्न गरेका गतिविधि, दाता विवरण तथा आय–व्यय विवरण सार्वजनिक गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगन्जमा निर्माणाधीन मानव सेवा आश्रम शाखाको भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग न्यून रहेको यथार्थ औँल्याउँदै, समाजसेवी र दाताहरूको योगदानकै कारण आश्रमहरू निरन्तर सञ्चालनमा रहेको बताए।
मन्त्री पटेलले मानव सेवा आश्रममा सेवा गर्ने स्वयंसेवकहरूको उच्च मूल्यांकन गर्दै भने, “मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू ईश्वररूपी हुन्। उनीहरूको इमानदारी, सेवा भावना र योगदानको जति प्रशंसा गरे पनि त्यो अपूरो नै रहन्छ।”
समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले मानव सेवा र सामाजिक उत्तरदायित्वबारे आफ्ना धारणा राखेका थिए।
क्लासिक बैंक्वेटमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले गरेका थिए । सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
