युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ नारासहित म्याराथन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित प्रतियोगितामा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेलकुद र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पारे। खेलकुदकै माध्यमबाट देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सकिने उल्लेख गर्दै उनले खेलाडीको सम्मान, प्रोत्साहन र क्षमता विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। महानगरपालिकाले नयाँ खेलाडी उत्पादनदेखि उनीहरूको सीप विकाससम्मका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी पनि उनले दिए।
सिंहले खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न निरन्तर पहल भइरहेको बताए।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एस का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायत वक्ताहरूले नियमित दौड तथा खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिए।
युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विद्यार्थी र युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए। दौडमा रुचि राख्ने प्रतिभाहरूलाई पहिचान गरी अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनले उल्लेख गरे।
कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, स्वयंसेवक, सहभागी र समर्थकप्रति आभार व्यक्त गरे। यस्ता कार्यक्रमले वीरगंजलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम भए। सोही विद्यालयका धिरज प्रसाद यादव द्वितीय र वीरगंजस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थान हासिल गर्न सफल भए।
प्रथम हुने पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ तथा तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे। साथै सबै विजेतालाई मेडल, प्रमाणपत्र र एक–एक जोर जुत्ता प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन अंकित चौरसिया, नरोत्तम पाण्डेलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगंज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, श्याम गुप्ता, डा. पशुपति भट्ट, डा. दीपक चौरसिया, मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, लिटल बड्डी प्रि–स्कूलका प्रधानाध्यापक विजय कुमार बललगायतको उपस्थिति रहेको थियो।
युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीका अनुसार प्रतियोगितामा बारा र पर्सा जिल्लाबाट २५० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।