वीरगञ्ज । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि निरन्तर बढ्दै गएको हिंसाले गम्भीर चिन्ता उत्पन्न गरेको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार पतनपछि सन् २०२४ अगस्टदेखि हिन्दुहरू लक्षित हत्या, आक्रमण, आगजनी र धम्कीका घटनामा उल्लेख्य वृद्धि भएको छ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यस्ता घटनालाई प्रायः “साम्प्रदायिक नभएको” वा “व्यक्तिगत विवाद” भन्दै खारेज गर्दै आए पनि पछिल्ला दिनमा भएका निर्मम हत्याकाण्डहरूले सरकारी दाबीलाई प्रश्नको घेरामा पारेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो ३५ दिनमै कम्तीमा ११ जना हिन्दु नागरिकको हत्या भएको छ। हत्या गर्ने क्रममा गोली हान्ने, घाँटी रेट्ने, भीडले कुटपिट गरी जलाउनेजस्ता अमानवीय विधि अपनाइएको जनाइएको छ।
जनवरी ५ मा जेसोर जिल्लामा आइस फ्याक्ट्रीका मालिक तथा स्थानीय पत्रिकाका सम्पादक ४० वर्षीय राणा प्रताप वैरागीको सात गोली हानी घाँटी रेटेर हत्या गरिएको थियो। उनी अल्पसङ्ख्यक अधिकारका पक्षमा सक्रिय थिए। परिवारको सुरक्षाका लागि मासिक ठूलो रकम बुझाउँदै आएका वैरागी अन्ततः ज्यान जोगाउन असफल भए। उनको हत्यापछि पत्नी, आठ वर्षीय छोरा र वृद्ध अभिभावक बेसहारा बनेका छन्।
उही दिन नर्सिंगडीमा किराना पसल सञ्चालक मणि चक्रवर्तीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। त्यसलगत्तै नाओगाँओ जिल्लामा मिथुन सरकार नामका युवा चोरीको आरोपमा भीडले लखेटेपछि ज्यान जोगाउन पोखरीमा हाम फाल्दा मृत्यु भएको थियो। यसअघि पनि सुन व्यापारी, माछा व्यापारी, मुक्ति युद्धका योद्धा दम्पती, गार्मेन्ट मजदुर, अटो चालकलगायत विभिन्न पेशामा आबद्ध हिन्दु नागरिकहरू विभिन्न जिल्लामा मारिएका छन्।
हिन्दु समुदायका प्रतिनिधिहरूका अनुसार इस्लामिक कट्टरपन्थी समूहहरूले ‘सुरक्षा कर’ को नाममा रकम असुल्ने, नतिरे ज्यान मार्ने धम्की दिने गरेका छन्। रकम बुझाउँदा पनि हत्या रोकिएको छैन। बढ्दो हिंसाका कारण धेरै हिन्दु परिवारहरू आफ्नो सम्पत्ति बेचेर भारत वा अन्यत्र बसाइँ सर्ने तयारीमा रहेको बताइएको छ।
युनुस सरकारले केही घटनामा कारबाहीको संकेत गरे पनि अधिकांश हत्याकाण्डमा अनुसन्धान सुस्त रहेको अल्पसङ्ख्यक अगुवाहरूको आरोप छ। मानवअधिकार संस्थाहरूले अल्पसङ्ख्यकको सुरक्षाका लागि विशेष संयन्त्र र मन्त्रालय गठन गर्न आग्रह गरेका छन्। भारतले पनि बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको निरन्तर हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
आगामी फेब्रुअरी निर्वाचन नजिकिँदै गर्दा बङ्गलादेशमा बढ्दो साम्प्रदायिक हिंसाले ठूलो अस्थिरता निम्त्याउने खतरा देखिएको छ। अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित नगरे सामाजिक सद्भाव र राष्ट्रिय स्थायित्वमै गम्भीर असर पर्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।